सिपाही र हवल्दारको रासनभत्ता  हाकिमको खल्तीमा



काठमाडौं: रासनबापत नगद नै दिन थालेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सिपाही–हवल्दारलाई लामो समय बिदामा पठाएर रासनभत्ता हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छानबिनमा खुलेको छ ।

 

रासन हिनामिना गरेको खुलेपछि दुई गुल्मपतिलाई कारबाही भएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । मुस्ताङको गुल्ममा कार्यरत डिएसपी हरिबहादुर गुरुङ र खोटाङको गणमा कार्यरत डिएसपी धनबहादुर बानियाँमाथि कारबाही चलाइएको उनले बताए । दुवैलाई गुल्म/गणपतिबाट हटाएर विभागीय कारबाही गरिएको हो । रासनभत्तामा अनियमितताको उजुरी बढेपछि प्रहरी प्रधान कार्यालयले विशेष टिम नै बनाएर बाहिनी, गण, गुल्म तथा बोर्डर आउटपोस्ट (बिओपी)का प्रमुखमाथि कारबाही थालेको हो ।

 

सशस्त्रको उजुरी छानबिन शाखामा अन्य गण तथा गुल्मबाट समेत रासनमा अनियमिततासम्बन्धी उजुरी बढेका छन् । प्रधान कार्यालयले कारबाही नै गर्न थालेपछि उजुरी बढेका हुन् । ‘हामीले यसका लागि मनिटरिङ सेल नै गठन गरेका छौँ,’ डिआइजी श्रेष्ठले भने, ‘रासन अनियमितताविरुद्ध कडाइका साथ कारबाही सुरु भएको छ ।’

 

 देशभरका कार्यालयमा छड्के सुरु

रासनमा हुने अनियमितता रोक्न हरेक बाहिनी, गण तथा गुल्मले बिदामा रहेका र ड्युटीमा रहेका प्रहरी कर्मचारीको विवरण दैनिक रूपमा प्रहरी प्रधान कार्यालयमा टिपाउनुपर्ने भएको छ । त्यसका साथै आकस्मिक निरीक्षणहरू बढाइएको डिआइजी श्रेष्ठले बताए ।

 

‘एसएसपी वा सोभन्दा माथिका प्रहरी अधिकारीले आफू पुगेको क्षेत्रमा आकस्मिक रूपमा छड्के गर्न पाउँछन्,’ उनले भने, ‘यसले रासनलगायत विषयमा रहेको विकृति कम हुने हाम्रो अपेक्षा छ ।’ प्रहरी प्रधान कार्यालयले पनि गोप्य टिमहरू देशभरका कार्यालयमा पठाएर आकस्मिक अनुगमन थालेको छ । अनुगमनका क्रममा अनावश्यक रूपमा धेरै बिदा दिने इन्चार्जमाथि कारबाही थालेको नयाँपत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्