कर्मचारी समायोजन, सफ्टवेयर दायरामा ३२ हजार कर्मचारी



काठमाडौं: सरकार र कर्मचारी सम्बद्ध ट्रेड युनियनबीच सहमतिसँगै कर्मचारी भटाभट समायोजन प्रक्रियामा सहभागी हुन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरमा शुक्रबारसम्म देशभरका ३२ हजार कर्मचारी जोडिएका छन् ।

 

मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुरेश अधिकारीले समायोजन प्रक्रियामा कर्मचारीको उत्साह बढ्न थालेको बताए । उनले शुक्रबारसम्म समायोजन सफ्टवेयरमा ३२ हजार कर्मचारी सम्पर्कमा आइसकेको जानकारी दिए । तीमध्ये १० हजारले समायोजन हुन चाहने तह उल्लेख गर्दै समायोजन फाराम नै भरिसकेको जानकारी प्रवक्ता अधिकारीले दिए । समायोजन फाराम भरेकामध्ये आधाभन्दा बढीले संघमै समायोजन हुने चाहना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

 

संविधानको धारा ३०२ बमोजिम केन्द्रीकृत शासन व्यवस्थामा नियुक्त भएका कर्मचारीलाई सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने प्रक्रिया थालेको हो । यसै प्रायोजनका लागि सरकारले ल्याएको समायोजन अध्यादेश संसद्का दुइटै सदनबाट स्वीकृत भइसकेको छ ।

 

सुरुमा समायोजन प्रक्रियाविरुद्ध अधिकांश कर्मचारी आन्दोलित थिए । सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई संघमा आउने सबै खालका अवसर प्रदान गर्ने गरी संघीय निजामती सेवा ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि समायोजनमा कर्मचारी उत्साह बढेको हो ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत ११ पुसमा २१ दिनको समय दिएर देशभरका कर्मचारीलाई समायोजनमा सहभागी हुन आह्वान गरेको थियो । समायोजन हुन चाहने कर्मचारीले मन्त्रालयको सफ्टवेयरमार्फत समायोजनको फाराम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

 

समायोजनमा निजामतीतर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र विभिन्न संगठित संघसंस्थाका झन्डै २ हजार गरी १ लाख ६ हजार कर्मचारी सहभागी हुनेछन् । सरकारले गत साता मात्रै तिनै तहको नयाँ संगठन संरचना र दरबन्दी स्वीकृत गरिसकेको छ ।

 

सोअनुसार अब संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ६ सय ८५ र स्थानीय तहमा ६६ हजार ७ सय ६६ जना गरी देशभरमा १ लाख ३७ हजार ३ सय ७१ जना कर्मचारी रहनेछन् । कर्मचारीले समायोजनका लागि फाराम भर्ने काम सम्पन्न भएपछि तिनै तहमा समायोजनको कार्य थालिनेछ । यसका लागि मन्त्रालयले राष्ट्रिय किताबखानाले तयार पारेको कर्मचारीको अद्यावधिक विवरण अध्ययन गर्ने गरी सफ्टवेयरको विकास गरेको छ । सो सफ्टवेयरमार्फत कर्मचारीको विवरण हेर्दै सोहीअनुसार कर्मचारीको धमाधम समायोजन थाल्ने तयारी मन्त्रालयले गरेको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्