आन्तरिक विवादले काग्रेस बैठक प्रभावित



नेपाली कांग्रेसले बिहीबार बोलाएको केन्द्रिय कार्यसमिति बैठक बस्दै नबसी अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २१ गते तय गरिएको बैठक आजका लागि सारिएको थियो। अनौपचारिक बैठक बसे पनि औपचारिक रुपमा बैठक बस्न नसकेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई बताए।

दिनभरजसो अनौपचारिक छलफल भयो। सभापति शेरबहादुर देउवासहित बरिष्ठ नेता, केन्द्रिय सदस्यहरु छलफलमा हुनुहुन्थ्यो,  पौडेलले भने, औपचारिक बैठक अर्को दिन बस्छ। अब कहिले बैठक बस्छ भन्नेबारे अहिले मिति तय नभएको उनले बताए।

कांग्रेसले विहिवारको बैठकबाट अनुशासन समिति बनाउने बताएको थियो। उक्त समिति गठनमा सभापति देउवा इतर बिचार समूहले फरक मत राखेपछि बैठक बस्न नसकेको एक केन्द्रिय सदस्यले बताए। ५ सदस्यीय समितिमा राख्न भन्दै सभापतिले बरिष्ठ नेता रामचन्द्र पौडेललाई २ सदस्यको नाम दिन भनेका थिए।

तर नेता पौडेलले समितिको संयोजक आफ्नो समूहबाट हुनुपर्ने बताउँदै आएको स्रोतको भनाइ छ। समितिको संयोजकबारे पहिले छलफल गर्नुपर्छ भन्ने बरिष्ठ नेताको माग रह्यो। उहाँले नाम पनि दिनुभएको छैन, ती केन्द्रिय सदस्यले भने । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले पनि नयाँ समिति गठन गर्नुपूर्व पूरानो अनुशासन समिति भंग गर्नुपर्ने बताउँदै आएको छ।

यसअघि गठित अनुशासन समितिमा रमेश रिजाल, कमला पन्त, सुरेन्द्र पाण्डे, ह्रदयराम थानी, उमाकान्त चौधरी थिए।

प्रतिक्रिया दिनुहोस्