डा. जगमान गुरूङको आत्मकथा



काठमाडौं: नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरूङ मूलतः नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता हुन् । विक्रम संवत् २००३ सालमा हाल कास्कीको मादी गाउँपालिकमा जन्मिएका उनले गण्डकी अञ्चल हुलाक कार्यालयमा मुखिया पदमा सरकारी सेवाको सुरुवात गरेर त्रिभुवन विश्वविद्यालयमा हेड असिस्टेन्ट अनुसन्धानकर्ता हुँदै सहप्राध्यापक भए । विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका गुरुङको आत्मकथा :

 

पारिवारिक पृष्ठभूमि

मेरो जन्म साबिक लमजुङ हाल कास्की जिल्लाको मादी गाउँपालिका–३ को मिरउमरा वंशमा भएको हो । मेरा बाबुआमा किसान हुनुहुन्थ्यो । खेतीकिसानीबाट घरपरिवारको निर्वाह हुने गर्दथ्यो । मेरा जेठाबा हर्कजङ्ग गुरूङ याङ्जाकोटको मिरउमरा (सैनिक कमान्डर) हुनुहुन्थ्यो । उहाँ ज्योतिष र तन्त्रमन्त्र जान्नुहुन्थ्यो । विसं २०१७ सालमा प्रधानपञ्च पनि हुनुभयो । म जेठाबाबाट धेरै प्रभावित भएँ र उहाँको सङ्गतमा रहेँ । उहाँबाट मैले तन्त्रमन्त्र र ज्योतिष विद्या सिकेँ । उहाँको शेषपछि छ गाउँ याङ्जाकोटको मिरउमराको सन्तानको हैसियतले त्यहाँको मौलो पूजा चलाइरहेको छु ।

 

बाल्यकाल र अध्ययन

म गाउँले वातावरणमा हुर्कें । सामान्य मध्ययवर्गीय बालकको जस्तो जीवन हुन्छ, त्यस्तै मेरो जीवन रह्यो । मैले कखरा बाबाट घरमा सिकेँ । त्यसपछि गाउँलेले चलाएको पाठशालामा कास्की अर्घौं झाँगरमारेका विचारी शेखरनाथ त्रिपाठी गुरूबाट बाह्रखरी पढेँ । पहिलो वर्णमाला, लिखितम धनीका नाम, चुच्चेचोला असनी, जग्गाको राजीनामा, बालकको नाम जुराउन जानेपछि पढाइ सकियो । वेणी पाठशालामा ऊँ नमः चण्डिकायः, दुर्गा कवच निःशुल्क पढियो । विसं २०१३ सालमा डिस्ट्रिक सोल्जर मोड (भारतीय सैनिकले चलाएको स्कुल) मा प्राथमिक स्कुलमा पाँच कक्षासम्म पढेँ ।

 

अध्ययन र रोजगारी सँगसँगै

विसं २०१८ सालमा ६ कक्षामा भर्ना हुन पोखरा रामघाटस्थित सोल्जर मोड हाइस्कुलमा पढेर एसएलसी गरेँ । यो स्कुल भारतीय सैनिकमा कार्यरत नेपाली नागरिकले चलाएका थिए । एसएलसीपछि पृथ्वीनारायण कलेजमा आईए पढेँ ।

 

नतिजा आउन एक वर्ष लाग्ने भएकाले गण्डकी हुलाक नियन्त्रण कार्यालयमा मुखिया पदमा १० रुपियाँ तलब पाउने गरेर जागिर खाएँ । घर लमजुङ भएकाले बेजिल्ला भएकाले थप भत्ता पाइन्थ्यो । विसं २०३२ मा लमजुङको पाँच गाउँ पञ्चायत कास्कीमा गाभियो । आईएपछि बीए गरेँ । अस्थायी मुखियाको जागिर छोडेँ ।

 

नयाँ शिक्षा आएपछि पृथ्वीनारायण क्याम्पसमा हेड असिस्टेन्ट भएँ । सहायक प्रशासक भएँ । पोखरामा त्रिविविले मानविकीको डीन कार्यालय राख्यो । डीन भएर प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना आउनुभयो । मैले उहाँलाई कर्मचारी भर्नामा सहयोग गरेकाले उहाँ मलाई राम्रो मान्नुहुन्थ्यो । उहाँले मलाई सजिलो हुनेगरी काठमाडौँ नेपाल तथा एसियाली अध्ययन केन्द्रमा पठाइदिनुभयो ।

 

काठमाडौँ बसाइ : जीवनको नयाँ मोड

नेपाल तथा एसियाली अध्ययन केन्द्रका निर्देशक डोरबहादुर बिष्ट हुनुहुन्थ्यो । म यस केन्द्रमा पहिले काजमा गए पनि छ महिनापछि सरुवा नै भएर गएँ । त्यतिबेला तलब ४०० रुपियाँ थियो । पुल्चोकमा जेठानको घरमा बसेँ ।

 

कपिलवस्तु मौजा भएका जेठानले बहिनीलाई पेवा दाइजो पनि दिए । श्रीमतीका दिदीहरू अविवाहित भएकाले बहिनीलाई पैसा दिइरहन्थे । यसले गर्दा हाम्रो जीवन निर्वाह राम्ररी नै भयो । विसं २०३५ मा त्रिविविमा नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयमा एमए भर्ना भएँ । ०३६ को आन्दोलनले नतिजा आउन ढिला भयो ।

 

विसं २०३९ मा मैले एमए प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र विद्याभूषण र गोकुलचन्द्र पदक पनि पाएँ । विसं २०४१ म त्रिविविमा सहायक प्राध्यापकमा परीक्षा दिएर पास भएँ । सिनासको दरबन्दीबाट इतिहास विभागमा सहायक प्राध्यापक भएँ । पछि अन्तर्वार्ताका माध्यमबाट उपप्राध्यापकमा बढुवा भयो ।

 

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा वासुदेव त्रिपाठी कुलपति हुँदा प्राज्ञ परिषद् सदस्य भएँ । ६३ वर्षको उमेरमा सहप्राध्यापकबाट अवकाश पाएँ । यसबाहेक मैले नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान केन्द्रमा चार वर्ष कार्यकारी निर्देशक भएँ र फेरि दुई वर्ष कार्यकाल थपियो । विसं २०७५ साउन १७ देखि सो पदबाट अवकाश लिएँ । विसं २०७५ पुस २ गतेदेखि नेपाल प्रज्ञाप्रतिष्ठानको उपकुलपति नियुक्त भएर कार्य गरिरहेको छु ।

 

लेखन एवम् अनुसन्धान कार्य

विसं २०३४ सालमा मैले ‘गुरूङ जाति तथा संस्कृति’ नामक पुस्तक तयार गरेँ । यो पुस्तक प्रकाशन गर्दा श्रीमतीको हातको सुनको चुरा बेचेर छापेको थिएँ । एमएमा पढ्दा ‘नेपालको एकीकरणमा गुरूङहरूको भूमिका’ शोधपत्र लेखेँ । यो पुस्तक बौद्ध अर्घौं सदन (पोखरा) ले छाप्यो । केही पैसा र सर्वाधिकार दियो ।

 

नेपाल र एसियाली अध्ययन केन्द्रमा हुदा उपल्लो मुस्ताङमा छ महिना बसेर गुम्बाको अध्ययन गरेर ‘मुस्ताङको सांस्कृतिक सम्पदा’ पुस्तक लेखेँ र छापियो । विसं २०६१ मा सिनासबाट ‘नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रसवण क्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन’ नामक पुस्तक प्रकाशित भयो । यस पुस्तकको धेरै चर्चा भयो ।

 

यसै किताबको प्रभावले मलाई तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य पनि बनायो । यसबाहेक मेरो ‘गण्डकी प्रसवन क्षेत्रका सांस्कृतिक सम्पदा’ नामक कृति पश्चिमाञ्चल विकास मञ्च नामक संस्थाबाट छापियो । त्यस्तै ‘तमुवानको ऐतिहासिक वृत्तान्त’ नामक कृति केही आफ्नै र केही लण्डनवासी भाइहरूको साठी हजारको सहयोगले छापियो ।

 

यसबाहेक मेरा तीन पुस्तक ‘नेपालको राष्ट्रियताको समीकरणमा शिव–बुद्ध समन्वयवादको भूमिका’, ‘शैव दर्शन र बौद्ध दर्शनको तुलनात्मक अध्ययन’ र ‘शैव तन्त्र र बौद्ध तन्त्रको तुलनात्मक अध्ययन’ प्रकाशन हुन बाँकी नै छन् । यी पुस्तकमा शैव दर्शन र बौद्ध दर्शन र तन्त्रलाई नेपाली मानसिकताले कसरी अपनाएको छ ?, नेपाल राष्ट्रको निर्माण र नेपाली राष्ट्रियताको विकासमा यसले कस्तो भूमिका खेलेको छ ? जस्ता विषयमा चर्चा गरेको छु । यसबाहेक विभिन्न पत्रपत्रिकामा ७५ लेख प्रकाशित छन् ।

 

नेपाली संस्कृतिका आधार

नेपाली संस्कृतिको प्रकृति समन्वयात्मक छ, समन्वयात्मक अध्यात्मवादले समन्वयात्मक नेपाली संस्कृतिको संरचना र विकास भएको छ । समन्वयात्मक नेपाली संस्कृतिको धरातलमा नेपाल राष्ट्रको निर्माण र नेपाली राष्ट्रियताको विकास भएको छ । प्रादेशिक संरचनामा नेपाललाई हिमाल, पहाड, नेपाल मण्डल र मधेसमा विभाजन गर्न सकिन्छ ।

 

यसो भए पनि नेपाली चाडपर्वमा समन्वयको भाव पाइन्छ । एउटै तीर्थस्थलमा विभिन्न समुदायका मानिस मेला भर्न जान्छन् । चाडपर्वको तिथिमिति एउटै भए पनि मनाउने तरिका फरक छ । यसले नेपालीका बीचमा सामाजिक सद्भाव, धार्मिक–सांस्कृतिक सहभाव एवम् राष्ट्रिय एकताभाव जोडिएको छ ।

 

नेपाल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले ‘चार जात छत्तीस वर्ण’ को संज्ञा दिएका थिए । अहिले हामी ‘सयौँ थुँगा फूलका हामी नेपाली’ भनेर राष्ट्रियगान गाउँछौँ । त्यसो भएमा मात्र ‘समृद्ध नेपाल सुखी नेपाली’ को योजना सफल हुन्छ । समन्वयात्मक नेपाली संस्कृतिले त्यस उद्देश्यको परिपूर्तिका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

 

भविष्यका योजना

म नेपाल प्रज्ञाप्रतिष्ठानमा निश्चित कार्ययोजनासाथ आएको छु । यस कार्यकालमा नेपालका सातै प्रदेशको भौगोलिक अवस्थिति, ऐतिहासिक पृष्ठभूमि, जनजीवन, भाषा–साहित्य, तीर्थस्थल, चाडपर्व, सामाजिक संस्था, कला–वास्तुकलाजस्ता विषयमा केन्द्रित भएर ग्रन्थहरू प्रकाशनमा ल्याउने सोचेको छु ।

 

त्यसको साथै सातै प्रदेशमा यस कार्यकालमा त्रिदिवसीय सांस्कृतिक सङ्गोष्ठी गर्ने, त्यसमा कार्यपत्र पनि लेखाउने, काठमाडौँमा ‘वयं राष्ट्रे जागृयाम पुरोहिता’ अर्थात् ‘हामी राष्ट्रमा अग्रगामी भै जागौँ’ नारा लिएर नेपाली संस्कृति र राष्ट्रियता विषयमा प्रवचन, कार्यपत्रजस्ता कार्यक्रम गर्ने र तिनलाई पुस्तक बनाएर प्रकाशित गर्ने योजनासहित कार्य गरिरहेको छु । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्