‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत ९६ छोरीको बैंकमा खाता



टिकापुर : कैलालीको टीकापुर नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत टीकापुरका ९६ जना बालिकाको बैंक खाता खोलिएको छ । बालविवाह अन्त्य गर्ने उद्देश्यले कैलालीको नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमको शुरु गरेपछि साउनयता ९६ जना छोरीको बैंक खाता खोलिएको हो ।

नगरपालिकाले कार्यविधि बनाएर साउनदेखि यो कार्यक्रम लागू गरेपछि अभिभावकसमेत खुशी भएका छन् । नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ निर्माण गरेको छ । गएको साउन १७ गते बसेको नगरसभाले कार्यविधि स्वीकृत गरेपछि त्यहीअनुसार काम गरिरहेको नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल बताए । “बालविवाह न्यूनीकरणका साथै समाजमा छोरीको महत्व बुझाउन यो कार्यक्रम सहयोगी बन्नेछ”, नगर प्रमुख रावलले भने, “यहाँ अहिले पनि १७ प्रतिशत किशोरी आमाहरु छन्, बालविवाह गर्नेको सङ्ख्या त अझ बढी होला, त्यसकारण यो कार्यक्रम अघि सारेका हौँ ।”

उनी यो कार्यक्रमले जन्मिने बित्तिकै छोरीको जन्मदर्ता बन्ने भएकाले उसको जन्मने बित्तिकै अधिकार स्थापित हुने बताए । “जन्मदर्ता बन्छ, छोरी र नगरपालिकाको नाममा संयुक्त खाता खोलिन्छ”, रावलले भने, “२० वर्षपछि विवाह गर्ने छोरीलाई मात्र वार्षिक रु एक हजारका दरले एकमुष्ट २० हजार नगरपालिकाले दिनेछ । यसले छोरीको सम्मान र समाजमा महत्व बढाउँछ ।”

कार्यविधिमा आर्थिक वर्ष २०७६÷७७ को साउन १ गतेदेखि जन्मिएका बालिकाको हकमा मात्र यो कार्यविधि आकर्षित हुने र टीकापुर नगरपालिकाको स्थायी बासिन्दा भई सम्बन्धित वडाको सिफारिस भएको हुनुपर्ने उल्लेख गरिएको छ । मङ्सिर मसान्तसम्म कार्यक्रमअन्तर्गत टीकापुर नगरपालिकाको कार्यालयमा साउनयता जन्मिएका ९६ छोरीहरूको दर्ता भएको टीकापुर नगरपालिका महिला बालबालिका उपशाखा संयोजक सङ्गीता शाहले जानकारी दिए । “आजभोलि छोरी जन्मने बित्तिकै अभिभावक जन्मदर्ता गर्न आउँछन्”, शाहले भने, “विगतमा आवश्यक परेमात्रै जन्मदर्ता गर्ने चलन थियो, यो कार्यक्रमले समयमै घटना दर्ता गर्ने बानीको समेत विकास भएको छ ।”

नगरपालिकामा दर्ता भएका छोरीहरुको नाममा खाता खोली नगरपालिकाले प्रत्येक वर्ष रु एक÷एक हजारका दरले २० वर्षसम्म रकम जम्मा गर्छ । यो कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले छोरीहरुको नाममा खाता खोली रकम जम्मा गरी दिन थालेपछि अभिभावक खुशी भएका छन् । टीकापुर–३ की रेश्मा शाहकी छोरी भदौमा जन्मिइन्, जन्मेको २० दिनमा छोरीको जन्मदर्ता गराइयो । अब वार्षिक रु एक÷एक हजार नगरपालिकाले राखिदिने भएको छ । “म निकै खुशी छु, छोरीप्रति सरकारले सम्मान गरेको छ”, शाहले भने, “छोरीप्रतिको विभेद घटाउन यस्तै कार्यक्रम गर्न आवश्यक छ ।”

सन् २०३० सम्ममा राष्ट्रिय परिभाषाअनुसार गरिबी र यसका सबै आयाममा बाँचिरहेका पुरुष, महिला तथा सबै उमेरका बालबालिकाको अनुपात कम्तीमा आधाले घटाउने दिगो विकासको लक्ष्यमा भनिएको छ । त्यो लक्ष्य पूरा गर्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमले सहयोग गर्ने जनप्रतिनिधिको विश्वास छ । (रासस)

प्रतिक्रिया दिनुहोस्