कोदो खाँदा यस्तो फाइदा



काठमाडौं: कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । तिनीहरू यसको गुणमा होइन कि रंगमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन । तर, कोदो तपाईंहामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन ।

 

यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ। मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ।

 

सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ। कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ ।

 

हामीलाई चाहिने प्रायः सबै थोक यसमा हुने गरेको विज्ञहरू औंल्याउँछन् । ‘कोदोको सन्तुलित उपयोगले राम्ररी पोषित भएर स्वस्थ रहन सघाउँछ,’ युनिसेफ नेपालका पोषणविद् नवीन पौडेल भन्छन्, ‘पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खान थालेको अवस्था छ।’

 

नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो । यसलाई कुअन्न मान्ने परम्पराले गर्दा यसको गुण अपहेलित हुँदै आएको छ । हाल हाम्रो मुलुकमा अमृतजस्तै उपयोगगर्न सकिने कोदोको विषजस्तो उपयोग भइरहेको विज्ञहरू बताउँछन् । कोदोको उपयोग घरेलु जाँड, रक्सी, तोङबा लगायतमा बढी भइरहेको दुःखद स्थिति छ।

 

ढिँडोको रूपमा कोदो खानु अति नै फाइदाजनक मानिन्छ । रोटीको रूपमा खानु वा गहुँ, मकै आदि पिठोमा कोदोको पिठो मिसाएर रोटी लगायतका परिकार बनाउनुसमेत लाभदायक मानिन्छ । अफ्रिकातिर कोदोलाई सातुजस्तै फिटेर खाने चलन छ । हाम्रो मुलुकमा पनि यसरी कोदोको उपयोग गरिँदा यसले थप स्वास्थ्यसम्बन्धी फाइदा मिल्न सक्छ ।

 

बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ । खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुइटा कोदोका रोटी खाए पुग्छ । स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ । भारतमा कोदोले पापड, भुजिया, स्पागेटी, नुडल्स आदि बनाउन थालिएको छ । कोदोमा अरू पिठो मिसाएर बिस्कुट, पाउरोटी, बन, केक, मफिन, शिशु खाद्य पदार्थजस्ता विभिन्न परिकार बनाउन थालिएको छ ।

 

क्यान्सर, मुटुरोग र मधुमेहबाट जोगाउँछ

इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च (आईआईएमआर), हैदरावाद, भारतको तथ्यपत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ ।

महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने, कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छ, विषाक्तता हटाउँछ, श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांशपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ, पार्किन्सन्स रोग, मेटाबोलिक सिन्ड्रोम लगायतका थुप्रै डिजेनरेटिभ (पुनर्निर्माण हुन नसक्ने) रोगविरुद्घ सुरक्षा प्रदान गर्छ ।

 

यी हुन् कोदोका फाइदा

– मुटु रोग लाग्न दिँदैन ।

– एन्टिअक्सिडेन्ट गुण हुन्छ ।

– हाड बलियो बनाउँछ ।

– बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ ।

– नराम्रो कोलेस्ट्रोल घटाउँछ ।

– शरीरको विषाक्तता बाहिर निकाल्छ ।

– पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ ।

– रगतको कमी हुन दिँदैन ।

– कब्जियत हुन पाउँदैन ।

– टाइप २ मधुमेहबाट जोगाउँछ ।

– स्तन क्यान्सर हुन दिँदैन ।

– शारीरिक तौल नियन्त्रित राख्छ ।

– रक्तचाप घटाउन प्रभावकारी हुन्छ

– मृगौला र कलेजोको रोग लाग्न दिँदैन ।

– रोगप्रतिरोधी क्षमता बढाउँछ ।

– फलफूल र सागसब्जी जतिकै पोषक हुन्छ ।

– ऊर्जाको राम्रो स्रोत हो ।

– पित्त थैलीमा पत्थरी हुन दिँदैन ।

– मीठो निद्रामा सघाउँछ ।

– छाला चम्किलो बनाइराख्छ ।

– घाउ छिटो भरिन सघाउँछ ।

– आमाको दूध बढाउँछ ।

– मोटाहरूका लागि उपयोगी हुन्छ ।

– सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ ।

– कुपोषण हुन दिँदैन । कान्तिपुर दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्