गुण्डा नाइके नछुटाएकाे भन्दै दुवै अखिलका नेताले मागे अार्इजीपीकाे राजीनामा



काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आर्इजीपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको खुल्न अाएकाे छ । 

 

आर्इजीपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन अार्इजीपी हटाउन सक्रिय भएका हुन् । तत्कालीन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमा भेट गरी अार्इजीपी खनाललाई हटाउन दबाब दिएका हुन् । 

 

आर्इजीपी हटाउन दबाब दिने अध्यक्ष लामा र तामाङको कार्यशैलीको संगठनभित्रै विरोध भएको छ । दुवै नेता संगठनको विधि र प्रक्रिया मिचेर अार्इजीपीको राजीनामा माग्दै हिँडेको आरोप संगठनका अन्य पदाधिकारीले लगाएका छन् ।

 

तत्कालीन एमाले निकट अखिलका महासचिव ऐन महरले भने, ‘संगठनको कुनै पनि निकाय र तहमा छलफल नभई अध्यक्ष एकल स्वार्थका आधारमा अार्इजीपी हटाउनुपर्छ भन्दै गृहमन्त्रीकहाँ पुग्नु भएछ, त्यो संगठनको निर्णय होइन ।’

 

काठमाडौं उपत्यकामा हुने गरेका शृंखलाबद्ध अपराधका घटनामा संलग्न सत्यमान लामालाई महानगरीय परिसर काठमाडौंले पक्राउ गरेपछि उनलाई छुटाउन सांसद नवीना लामा परिसर पुगेकी थिइन् ।

 

परिसरका तत्कालीन प्रमुख एसएसपी विश्वराज पोखरेलले सत्यमानलाई जिल्ला प्रशासन कार्यालयमा पठाएपछि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी केदारप्रसाद शर्माले सांसद लामाकै जिल्लामा लगाएर सत्यमानलाई छाडिदिएका थिए। 

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट छुटेपछि सत्यमानलाई महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले अवैध डलर कारोबार आरोपमा पक्राउ गरे।

 

सत्यमान पक्राउ परेपछि नवीनाले अार्इजीपी खनाललाई फोन गरेर छोडिदिन आग्रह गरेकी थिइन्। तर महाशाखाले नै सत्यमानलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि समय लिएपछि उनी अार्इजीपी खनालसँग रिसाएकी थिइन् । 

 

अखिल अध्यक्ष लामाले विगतदेखि नै सत्यमानको संंरक्षण गर्दै आएकी छन् भने अहिले अर्का विद्यार्थी नेता तामाङसमेत त्यसमा सहभागी भएका छन् ।

 

समाचार आजको नागिरक दैनिक ले पहिलो पृष्ठमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्