उत्रिइन् चिनियाँ ‘चन्द्रमाकी देवी’



काठमाडौं: ‘चन्द्रमाकी देवी’ नाम दिइएको चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा उत्रिएपछि यो संसारलाई चासोको विषय बन्यो । किन ? यो आफैंमा सबैको कौतूहलको विषय बन्न गयो त ? अमेरिकाले पनि त बारम्बार पठाइहेको छ । रसियाले पनि पठाएको छ । तर, चीनको चन्द्रमामा हुन पुगेको उपस्थितिलाई संसारले फरक ढंगले किन हेर्न थाल्यो ?

 

‘चाङ ए–४ प्रोब’ चीनको समयअनुसार बिहीबार बिहान ठीक १०:२६ बजे चन्द्रमामा ओर्लियो । ओर्लंदा पनि यो यान चन्द्रमाको कालो छाया परेको भागतिर ओर्लियो । यसले चीनको अन्तरिक्ष खोजप्रतिको सफल पाइलामा कुन कुराको खोजी बढी केन्द्रित रहेको छ भन्ने आशयलाई थप खोजकै विषय बनाएको छ ।

 

अहिले चीनले पठाएको यान चन्द्रमाको दूरवर्ती इलाका र त्यो पनि छाया परेको भागमा सफलतापूर्वक उत्रनु पहिलेदेखि यान पठाइरहेका शक्ति राष्ट्रहरू र त्यसमा पनि अमेरिकाका लागि चुनौतीको विषय बनेको छ । अमेरिकामा व्यक्ति धनी छन्, सरकार गरिब र ऋणी छ । तर, चीन भने सरकार आफंै निकै धनी छ । यसले पछिल्लो चरणमा सैन्य संयन्त्र तथा अन्तरिक्ष खोजका लागि गर्दै आएको खर्बौं डलरको लगानी अरू शक्ति राष्ट्रका लागि टाउको दुखाइको विषय बन्दै आएको छ ।

 

चीन हरेक काममा जनताको केही न केही भावनात्मकता जोडियोस् भनेर सतर्क रहने गरेको र सरकारले गरेका काम पनि जनताका लगानीझैं प्रचारमा आओस् र सामूहिकताको सन्देश जाओस् भन्नेमा धेरै सतर्क देखिन्छ । अहिले पठाइएको यानको नाम पनि ‘चाङ ए–४ प्रोब मिसन’ अर्थात् चिनियाँ भाषामा ‘चन्द्रकी देवी’ नामाकरण गरिएको छ ।

 

सधैंभरि पृथ्वीतिर फर्किरहने चन्द्रमाको भाग केही सजिलो, समथल परेको र अवतरणका हिसाबले धेरै सहज भए पनि चन्द्रमाको अर्कोतिरको नदेखिने भागचाहिँ उबडखाबड र पहाडी तथा भिरालो छ । यो निकै चट्टानी भाग रहेको छ । अनुसन्धानका लागि यानले लिएर गएका उपकरण पनि आधुनिक खोजमूलक कार्यमा निकै सहयोगी हुने बताइएको छ ।

 

त्यसमा रेडियो फ्रिक्वेन्सीसमेत परेको छ । चन्द्रमाको अर्को र कुनै पनि शक्ति राष्ट्रले नछोएको वा प्रवेश नगरेको यो भागमा यानले निर्वाध रूपमा सूचना संग्रह गर्ने र त्यो अनुसन्धानको नयाँ आयाम बन्ने कुरामा चीन निकै खुसी भएको छ । यो यानले चन्द्रमामा रहेका खनिज तथा विकिरणजस्ता कुराको पनि खोजी गर्नेछ । योभन्दा पूर्वका अनुसन्धानले चन्द्रमाको दूर क्षीतिज मानिने पृथ्वीबाट नदेखिने साइडको अध्ययन कहिल्यै गरेको थिएन । यो साँच्चै भन्ने हो भने हालसम्म पनि रहस्यमय क्षेत्र रहँदै आएको छ ।

 

नयाँ अनुसन्धानका रूपमा रहेको चन्द्रमाको यो भाग अमेरिकी नासाका लागि पनि रहस्य र कौतूहलको विषय बन्दै आएको छ । यहाँ ज्वालामुखीबाट बनेका ठूलाठूला सुक्खा क्रेटर ताल रहेको अनुमान गरिएको छ । अर्कोतिर रहेको र पृथ्वीबाट कहिल्यै पनि देखा नपर्ने त्यो क्षेत्रको दक्षिणी गोलाद्र्धमा चिनियाँ यान उत्रेको छ ।

 

यहाँ निकै भयानक खालको ठूलो र गहिरो पिँध रहेको पनि बताइएको छ । यो खर्बौं वर्ष पहिले चन्द्रमामा बनेको आश्चर्यजनक पिँध मानिन्छ ।यस्तो रहस्यमय क्षेत्रमा उत्रिएको चिनियाँ यानले त्यहाँको बाहिरी सतहमा रहेका कुरा उत्खनन गरेर नमुनाका रूपमा पृथ्वीमा पठाउनेछ । पहिले त निकै शक्तिशाली प्यानोरामिक क्यामराले बाहिरी सतहको तस्बिर पृथ्वीमा पठाउनेछ । त्यसपछि मात्र उत्खननका काम अघि बढाउनेछ । निकै चासो र सतर्कताका साथ अनुसन्धान गर्ने यो यान हाल राम्रै सतहमा उत्रिएको बताइएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्