चर्चित अभिनेता कुशल आत्महत्या प्रकरणः असफल विवाह र श्रीमतीसँगको विछोड



एजेन्सी : भारतीय टेलिभिजन अभिनेता कुशल पञ्जाबीले आज आत्महत्या गरेका छन् । ३७ वर्षीय पञ्जाबीले आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेका थिए ।

उनलाई भाभा अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गरिदियो ।

प्रहरीले उनको घरमा सुसाइड नोट भेटेको थियो । उनले डेढ पानाको सुसाइड नोटमा आफ्नो मृत्युको कारण कोही नभएको उल्लेख गरेका छन् । उनले नोटमा आफ्नो सम्पत्तिको ५० प्रतिशत बाबुआमा र बाँकी आफ्नो तीन वर्षको छोरालाई दिन आग्रह गरेका छन् ।

उनले २०१५ मा आन्ड्री डालेनसँग विवाह गरेका थिए । उनीहरुको एउटा छोरा छन् ।

पञ्जाबीले ३० भन्दा बढी टेलिभिजन सिरियलमा काम गरेका छन् भने ठूलो पर्दामा समेत काम गरिसकेका छन् । उनी केही समयअघि मात्रै चर्चित सिरियल ‘इश्क मे मरजावा’ मा काम गरेका थिए । उनले २०११ मा अमेरिकी रियालीटी शो ‘वाइपआउट’ मा सहभागी भएका थिए । उनी थुप्रै टेलिभिजन कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए भने राम्रो नृत्यकार पनि थिए ।

उनको आत्महत्याको सन्दर्भलाई जोड्दै टाइम्स अफ इन्डियाले उनको २० वर्षदेखिका साथी चेतन हंसराजसँग कुराकानी गरेको थियो । चेतनका अनुसार कुशल श्रीमतीसँगको विछोडको पीडामा तड्पिरहेका थिए ।

कुशलले केही दिन अगाडि चेतनलाई आफ्नो अवस्था ठीक नभएको बताएका थिए । चेतनका अनुसार कुशल हँसिला र हरेक परिस्थितीसँग जुध्ने क्षमता राख्ने खालका थिए ।

चेतनका अनुसार कुशलले २०१५ को नोभेम्बरमा युरोपकी प्रेमिका आन्ड्रे डोलेसँग गोवामा विवाह गरेका थिए । पछिल्लो समय पत्नी शंघाईमा रहँदै आएकी थिइन् भने कुशल मुम्बईमा एक्लै बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्