मृत्युदण्डको फैसलाविरुद्ध मुशर्रफद्वारा लाहोर उच्च अदालतमा पुनरावेदन



पाकिस्तान : पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले विशेष अदालतको फैसलाविरूद्ध शुक्रबार लाहोर उच्च अदालतमा मुद्दा पुनरालोकनका लागि निवेदन दर्ता गरेका छन् ।

उनलाई विशेष अदालतले यही डिसेम्बर १९ मा पाकिस्तानको संविधानको धारा ६ अनुसार देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो । पूर्व सैनिक शासक मुशर्रफले आफूमाथि प्रतिशोधका कारण उक्त फैसला आएको धारणा आफ्ना वकीलमार्फत् यस पहिले नै राखेका थिए ।

पाकिस्तानी इतिहासमा सैनिक प्रमुखका हैसियतमा काम गरिसकेका कुनै व्यक्तिमाथि देशद्रोह अभियोग अदालतबाट पुष्टि भएको यो पहिलो घटना हो ।

पूर्व सैनिक प्रमुखले आफ्ना कानूनी सल्लाहकारसमेत रहेका अधिवक्ता अजहर सिद्दिकीमार्फत ८६ पाना लामो निवेदन दर्ता गरेका हुन् ।

निवेदनमाथि सुनुवाईका लागि न्यायाधीश मजाहिर अलि अक्बर नाक्वीको नेतृत्वमा आगामी जनवरी ९ मा इजलास हुनेछ । निवेदनमा विशेष अदालतको फैसलामा ‘असङ्गतपूर्ण र विरोधाभाषपूर्ण’ भनाइहरू आएको बताइएको छ ।

निवेदनमा मुशर्रफमाथि लागेको अभियोगमाथि सुनुवाईका लागि अपराध कार्यविधि ऐनको ३४२ भागलाई पृथक राखी मृत्युदण्ड दिइएको भनी विशेष अदालतको आदेश त्रुटिपूर्ण रहेको उल्लेख गरिएको छ ।

मुशर्रफविरूद्ध सन् २००७ को नोभेम्बर ३ मा पाकिस्तानी सविधानलाई डिसेम्बर १५ सम्म निलम्वन गरी पाकिस्तानमा सङ्कटकाल लगाएको र उक्त घटना पाकिस्तानी कानून अनुसार देशद्रोही भएको दावीसहित सन् २०१३ मा अभियोग दर्ता गरिएको थियो । –रासस

प्रतिक्रिया दिनुहोस्