प्रदेश गठनको वार्षिकोत्सव मनाइने



जनकपुरधाम : प्रदेश २ संसद्को कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बसेको बैठकले माघ २१ गतेका दिन प्रदेश गठनको एक वर्ष पुगेको अवसरमा वार्षिकोत्सव मनाउने निर्णय गरेको छ । वाषिकोत्सव मनाउने प्रयोजनका लागि समितिले सबै दल सम्मिलित एक कमिटी बनाएको प्रदेशसभा सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिए ।

सभामुख सरोज यादवको अध्यक्षतामा प्रदेशसभामा बसेको सो बैठकले माघ महिनाको पहिलो साता प्रदेशसभा बैठक बस्ने निर्णयसमेत गरेको छ ।

उपसचिव यादवका अनुसार बैठक बस्ने निर्णय भए पनि मिति भन्ने तय हुन सकेको छैन । माघमा बस्ने प्रदेशसभा बैठकले सातवटा समितिका सभापति निर्वाचनबारे टुंगो लगाउनेछ ।

प्रदेश संसद्का सातवटा समिति सार्वजनिक लेखा, अर्थ तथा योजना, विकास, प्राकृतिक स्रोत, कृषि तथा व्यवस्था, महिला, बाल बालिका तथा सामाजिकलगायत का अध्यक्ष पनि छानिनुपर्ने उपसचिव यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस्