रेंगिगमा संलग्नलाई कडा कार्बाही गरिनेछ : एसपी थपलिया



जनकपुरधाम : वरिष्ठ छात्रले नयाँ र कनिष्ठलाई अपमान र तिरस्कार गर्नका लागि असभ्य क्रियाकलाप र अभद्र तरिका प्रयोग गर्ने प्रवृत्ति अर्थात् रेंगिगबाट जनकपुरस्थित रामजानकी मेडिकल कलेजका छात्र पीडित बनेका छन् ।

 

रेगिंगका कारण धनुषाको रमदैयाभवाडीस्थित यो कलेजमा ६ महिनायता कनिष्ठ छात्रलाई शारीरिक तथा मानसिक शोषणको शिकार हुनु परिरहेको धनुषा प्रहरीले जनाएको छ । कलेज र शिक्षण अस्पताल भएको रमदैयाभवाडीबाट ११ किलोमिटर दक्षिण जनकपुरधाममा कलेजको सिटी हस्पिटल छ ।

 

धनुषा प्रहरीले कलेजमा अध्ययनरत वरिष्ठ छात्र राकेश पाण्डेलाई रेंगिग आरोपमा पक्राउ गरेपछि कलेजमा रेंगिगजस्ता दुष्कर्म भइरहेको खुलासा भएको हो । छात्र पाण्डेले एमबिबिएस प्रथम वर्षमा अध्ययनरत एक छात्रलाई अंग्रेजी नयाँ वर्षका दिन घाँटी थिची कुटपिट गरेका थिए । ती छात्रलाई शौचालयमा गएर कुटपिट गर्नेदेखि लिएर क्यान्टिन र सुत्ने कोठासम्म यातना दिएको आरोपमा पाण्डे पक्राउ परेका हुन् । 

 

क्याम्पस व्यवस्थापनको कमीकमजोरीले गर्दा रेंगिगका घटना गत ६ महिनादेखि हुँदै आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक(एसपी) गोविन्द थपालियाले बताए ।  द नेपालटपसँग कुरा गर्दै एसपी थपालियाले भने, ‘त्यहाँ कलेजका सिनियर स्टुडेंट्सले आफूभन्दा जुनियरलाई महिनौंदेखि मानसिक र शारीरिक यातना दिँदै आएका छन् ।’

 

उनले यस्ता घटनाबारे गुनासा आउन थालेपछि दुईतीन पटक क्याम्पस प्रशासनलाई जानकारी गराई समस्या समाधान गर्न आग्रह गरिएको थपालियाको भनाइ छ । एसपी थपलियाले पटकपटक ध्यानाकृष्ट गराउँदासमेत घटना नरोकिएपछि आरोपीलाई प्रमाणका आधारमा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । उनले भने, ‘आरोपी दोषी देखिएमा क्याम्पस व्यवस्थापनलाई समेत कानुनको दायरामा ल्याउनेछौं ।’ भारतलगायतका देशमा रेंगिगलाई ठूलो अपराधका रूपमा परिभाषित गरिन्छ । यसलाई रोक्न कडा दण्डसजायको प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्