एक सातामा १३ फरार प्रतिवादी पक्राउ



विराटनगर: मोरङको पथरी शनिश्चरेबाट एक साताको अवधिमा १३ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्धामा अदालतले दोषी ठहर गरे पनि फरार रहेकालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

 

उनका अनुसार बहुविवाह, लागूऔषध, सार्वजनिक अपराध र जवरजस्ती करणी मुद्धामा उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई अदालतले दोषी ठहर गरी कैद सजाय तथा जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला पछि उनिहरु फरार रहेका थिए ।

 

प्रहरीले पक्राउ गरेर बुझाएपछि कैद सजाय भएकालाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको र जरिवाना तिर्न बाँकी रहेकालाई जरिवाना असुल गरेर छाडिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए । ओझाले अदालतसंगको समन्वयमा प्रहरीले फरार प्रतिवादी पक्राउ विशेष अभियान नै संचालन गरेको जानकारी दिए । अदालतले पनि फैसला कार्यान्वायन विशेष अभियान संचालन गरेको छ ।

 

प्रहरीले जवरजस्ती करणी मुद्धामा फरार रहेका पथरीशनिश्चरे नगरपालिका २ का २८ वर्षीय राजेश धिमाललाई शुक्रबार पक्राउ गरेको छ । अदालतले २०७३ साल फागुन २२ गते धिमाललाई ११ वर्ष कैद सजायको फैसला सुनाएको थियो । छिमेकी युवतीलाई जवरजस्ती करणी गरेर फरार बनेका उनी अदालतले दोषी ठहर गरेको झन्डै दुई वर्षपछि पक्राउ परेका हुन् ।

 

त्यस्तै बहुविवाह मुद्धामा एक वर्ष कैद सजाय सुनाइएका पथरीशनिश्चरे ३ का ४५ वर्षीय धनपति राईलाई पनि प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । अदालतले राईलाई २०७३ साल पुस १० गते एक वर्ष कैद सजायको फैसला सुनाएको थियो । उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्