फाेहाेर व्यवस्थापनकाे २८ अर्ब फिर्ता



बुटवल : बुटवल उपमहानगरको फोहर व्यवस्थापन गर्न एसियाली विकास बैंकको करिब २८ अर्ब रुपैयाँ लगानी नभएपछि फिर्ता हुने भएको छ।

 

फोहर प्रशोधन, खानेपानी योजना र नमुना अटोभिलेजका लागि रकम आएको थियो। दुई पटक म्याद थप्दासमेत बुटवलले काम गर्न नसकेपछि रकम फिर्ता हुने करिब निश्चित भएको हो। बुटवलको लागि शिवनगर सामुदायिक वन क्षेत्रको भनभनेमा फोहर व्यस्थापन केन्द्र निर्माण गर्ने योजना थियो।

 

एशियाली विकास बैंकको सहयोगमा मझौला शहर एकिकृत शहरी वातावरण सुधार आयोजना अन्तर्गत फोहर व्यवस्थापनको योजनाअघि सारीएको थियो। चरंगेबासीको अवरोधले भनभनेमा बनाउने भनिएको फोहर प्रसोधन केन्द्र निर्माण सुरु हुन सकेको छैन।

 

२०७१ साल पुसमा सो ठाउँमा फोहर प्रशाेधन केन्द्र बनाउन ठेक्का सम्झौता भएको हो। दिएको म्याद सकिएपछि फेरि १४ महिना थपिएको थियो। थपिएको म्यादमा पनि निर्माण हुन सकेन। एडीबीअन्तर्गत आयोजनाको म्याद अब ३ महिना बाँकी छ। म्याद डिसेम्बर ३१ मा सकिँदै छ।

 

म्याद सकिएपछि एडीबीले लगानी नगर्ने भएकाले नयाँ तरिकाले अघि बढ्ने कुरा भइरहेको एडीबीअन्तर्गतको मझौला एकिकृत शहरी वातावरण सुधार आयोजना बुटवल इकाइका आयोजना व्यवस्थापक शिखर लामा तामाङले बताए।

 

‘यो अन्तर्राष्ट्रिय फिडीकको डकुमेन्टअनुसार सम्झौता भएको हो’, उनले भने, ‘सम्झौताअनुसार बुटवल उपमहानगरले आफ्नो बजेटबाट कार्यान्वयन गर्न चुनौती भएकाले यसलाई न्यायोचित रुपमा टुंग्याउन सहज हुन्छ भन्ने कुरा भएको छ।’ बुटवल उपमहानगरले सार्वजनिक नीजि साझेदारीको आधारमा फोहर व्यवस्थापन गर्न अर्को आयोजना सञ्चालन गर्ने सक्ने तामाङले बताए।

खबर अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा छ । http://annapurnapost.com/news/109945

प्रतिक्रिया दिनुहोस्