ट्यांकर ढुवानी रोक लगाएपछि आन्दोलन घोषणा



विराटनगर : नेपाल आयल निगमले भारतको बरौनी डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका १३ ट्यांकरलाई रोक लगाइएपछि पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन घोषणा गरेको छ ।

 

महासंघले घोषणा गरेको आन्दोलनमा पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघले पनि समर्थन गरेको छ । निगमको प्रदेश १ कार्यालय विराटनगरबाट संचालनमा रहेका  १३ वटा ट्यांकरलाई तीन महिना ढुवानीमा रोक लगाएसंगै व्यवसायीले आन्दोलन घोषणा गरेका हुन् ।

 

प्रतिबन्ध फुकुवा नभए सोमबारबाट ढुवानी ठप्प पारी देशव्यापी हड्ताल गर्ने चेतावनी पेट्रोलियम ढुवानी व्यवसायीले दिएका छन् । ढुवानीकर्ता सुखदेव सिंहले संचालन गरेका १३ वटा ट्यांकरलाई पुसबाट लागू हुने गरी प्रतिबन्ध लगाउँदै प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नदिएपछि महासंघले आन्दोलन घोषणा गरेको हो ।  

 

सिंहले संचालन गरेको को १ ख ५९६५ नम्बरको ट्यांकरबाट लक लागेकै अवस्थामा २ हजार ४ सय ८४ लिटर डिजेल चोरी भएको थियो । निगमले कारवाही स्वरुप सिंहले संचालन गरेका सबै ट्यांकरलाई इन्धन ढुवानीमा तीन महिना रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्