गोही संरक्षण गर्न पहल



बाँके: विश्वमै अति सङ्कटमा रहेको घडियाल गोही संरक्षणका लागि यहाँ पहल थालिएको छ । राप्ती नदीमा माछा र गोही प्रशस्त पाइने भएकाले तिनीहरुको अवस्था, सङ्ख्या र बासस्थानको अवस्था पत्ता लगाउन पहल थालिएको हो ।

 

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सो क्षेत्रमा विभिन्न प्रजातिका चरा, माछा, गोही र जलचर जीवका बारेमा अध्ययन भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । राप्ती नदीमा मगर गोहीका साथै विश्वकै दुर्लभ घडियाल गोही पनि पाइने गरेको निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले जानकारी दिए । गोही संरक्षण गर्न सके पर्यापर्यटनको विकासका लागि नयाँ गन्तव्यको खोजीमा सहयोग पुग्ने उनको विश्वास छ ।

 

स्वच्छ पानी मन पराउने र ताजा माछा खाने घडियाल गोही संरक्षित जीव हो । प्राकृतिक बासस्थानमा यी जीवको सङ्ख्या नेपालभर ३०० भन्दा बढी भएको अनुमान छ । नेपालमा खासगरी नारायणी, राप्ती, कर्णाली र बबई नदीमा घडियाल पाइने बताइन्छ । घडियाल गोहीले स्वच्छ वातावरणको सङ्केत गर्ने संरक्षणकर्मी हेमन्तराज काफ्ले बताए । 

 

निकुञ्जअन्तर्गत पर्ने राप्तीसोनारी गाउँपालिका–१ गाभरदेखि अगैयासम्मको क्षेत्रमा अध्ययन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए । सो क्रममा जनप्रतिनिधि, निकुञ्जलगायतको टोलीले राप्ती नदी र आसपासमा बसोवास गर्ने गोहीलगायत जलचर जीवको बासस्थान अवलोकन गरेको थियो ।

 

गाउँपालिका अध्यक्ष लाहुराम थारुले गोही संरक्षणका लागि निकुञ्जले थालेको प्रयास सकारात्मक भएको बताए । नेपालमा सन् २०१६ को गणनामा चितवनको राप्ती, नारायणी, बबई र कर्णाली नदीमा गरी कूल १९८ सङ्ख्या रेकर्ड गरिएको छ । हाल घडियाल गोही संसारमा नेपाल र भारतमा मात्र पाइने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्