‘जेटिए’को जागिर छाडेर कुरिलो खेतीमा



पाल्पा : बगनासकाली गाउँपालिका– ८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै छिन् ।

कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उनि यसतर्फ आकर्षित भएकी हुन् । ‘पाँच वर्षसम्म किसान परियोजनामा कृषि जेटिएको रुपमा काम गरे, तलब राम्रै थियो तर जागिर बन्धन जस्तै भयो, अहिले आफैले स्वतन्त्रसँग व्यवसाय गरिरहेको छु’ घिमिरेले भनिन् ।

उनले किसान परियोजनामा आवद्ध हुँदा मासिक रु ५० हजार बराबर तलब बुझ्थिन् । विगत पाँच वर्षअघि २५ बोटबाट कुरिलोखेती शुरु गर्नुभएकी घिमिरेले अहिले तीन रोपनी क्षेत्रफलमा आठ सय बोट कुरिलो लगाएकी छन् ।

कुरिलोबाट सोचेभन्दा बढी आम्दानी हुन थालेपछि दुई वर्षयता क्षेत्रफल विस्तार गरी व्यावसायिक तबरले खेती गरिरहेकी छन् । ‘आफूसँग प्राविधिक ज्ञान सीपका साथै प्रशस्त जग्गा भएकाले जागिर नै गर्नुपर्छ भन्ने छैन, घरपरिवारसँगै बसेर कृषि व्यवसायबाट महीनामा लाखौं कमाउन सकिन्छ’ उनि भनिछ्न् ।

खेती गर्ने प्रविधिमा राम्रो ज्ञान र अनुभवले पनि उनलाई कुरिलो व्यवसाय गर्न सजिलो भएको छ । यसवर्ष कुरिलोबाट पाँच लाख बराबरको आम्दानी हुने उनि बताउछिन् । यहाँ उत्पादित कुरिलो प्रतिकिलो रु ४००मा पाल्पा सदरमुकाम तानसेन र बुटवल बजारमा धमाधम बिक्री भइरहेको छ ।

‘कुरिलोको उत्पादन लिने समय नहुँदै पहिले नै माग हुन्छ, बजारमा कुरिलोको अत्यधिक माग छ तर जिल्लामा कुरिलो व्यवसाय गर्ने कृषक नहुँदा पुर्‍याउनै समस्या भइरहेकोले व्यावसाय बढाउने सोँचमा छु’ घिमिरेले भनिन् ।

यस व्यवसायमा उनका श्रीमान् जीवराज घिमिरेले पनि साथ दिँदै आएका छन् । घिमिरेले कुरिलो खेतीसँगै मौरिपालन व्यवसाय पनि गरिरहेका छन् । मानिसको स्वास्थ्यका लागि आवश्यक पर्ने दश तत्वमध्ये आठवटा तत्व कुरिलोबाट प्राप्त हुने हुँदा पनि बिक्रीका कुनै समस्या छैन ।

कुरिलो खेतीबाट कम लगानी र मेहनतमा कृषकले धेरै आम्दानी लिन सक्छन् । एक पटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुँदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राविधिक बताउँछन् । घिमिरेको व्यवसाय देखेर अहिले उक्त गााउँपालिकाका दश वटा समूहले पनि कुरिलो खेती शुरु गरेको कृषि शाखा प्रमुख सन्तोष जिसी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्