पूर्वराजा वीरेन्द्रकाे नाममा रहेकाे ८७ अर्बको चल अचल सम्पत्ति भेटियाे



काठमाडौं : स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ। नेपाल ट्रस्टको कार्यालयले हालसम्म वीरेन्द्र र उनको परिवारको चलअचल सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ।

 

राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको बताए। सो सम्पत्तिलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यावसायिक योजना बनाएर परिचालन गरी आएको रकम शिक्षा र स्वास्थ्यमा लागानी गर्ने उद्देश्य रहेको उनले बताए। सो कार्यान्वयन गर्न निर्देशिका तयार गरिएको पनि उनले बताए।

 

नेपाल ट्रस्टमा स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको अचल सम्पत्तिअन्तर्गत २२ हजार रोपनी जग्गा प्राप्त भएको र चल सम्पत्तिअन्तर्गत १ अर्ब ६९ करोड रुपैंया प्राप्त भएको सचिव सिंहले जानकारी दिए।

 

यसैगरी, विदेशी मुद्रा अन्तर्गत हालसम्म ४९ हजार पाउण्ड, १ लाख ४१ हजार डलर प्राप्त भएको छ भने नविल बैंकमा ४ लाख ३५ हजार सेयर, होटल अन्नपूर्णमा ३० हजार ५ सय ३० सेयर, नेपाल पब्लिक निगममा ३७ सय ५० सेयर लगानी देखिएको छ।

 

यस्तै, रत्नमन्दिर पोखरा, दियालो बंगला चितवन र मकवानपुरके बंगलामा अचल सम्पत्ति रहेको उनले बताए। पोखराको फेवातालमा मात्रै करिब २ सय रोपनी जग्गा रहेको उनले जानकारी दिए । हालैमा दुईवटा जग्गा फेला परेको पनि उनले बताए।

 

पूर्वअधिराजकुमारी प्रेरणाका नाममा उनी बसेको १५ रोपनी क्षेत्रफल भएको जग्गालाई सर्वोच्चको आदेशपछि नेपाल ट्रस्टको नाममा ल्याइएको छ भने प्रेरणाको नजिकै एकजना व्यक्तिको नाममा रहेको अढाई रोपनी जग्गा पनि एक महिना अघि ठाउँ छोड्न आदेश दिइएको उनले बताए।

 

२०६२/०६३ को आन्दोलनपछिको परिवर्तनले राजतन्त्रको अन्त्य भएपछि वीरेन्द्र र उनको परिवारको सम्पत्तिको खोजी गर्न अन्तरिम संविधानमा नेपाल ट्रस्टको स्थापनाको व्यवस्था गरिएको थियो। अन्तरिम संविधानको धारा १५९ मा नेपाल ट्रस्टको विषयमा उल्लेख गरिएको थियो । जसबमोजिम २०६४ साल मंसिर ६ मा नेपाल ट्रस्टको स्थापना गरिएको थियो।

 

पूर्वराजा वीरेन्द्र र रानी ऐश्वर्य र उनका छोरा दीपेन्द्र, नीराजन र छोरी श्रुतिका नाममा रहेको सम्पत्तिको खोजबिन स्वदेश र विदेशमा भइरहेको नेपाल ट्रष्टका सचिव डा. सिंहले जानकारी दिए।

 

खबर अाजकाे नागरिक दैनिकमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्