पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण



जुम्ला : जुम्लामा झण्डै डेढदशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । 

पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्काका थिए । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेको हो । 

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पेट्रोलको प्रति लिटर मूल्य रु १३० र डिजेलको प्रति लिटर मूल्य रु ११५ कायम गरिएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु १५० र डिजेल रु १३० सम्ममा किनबेच भइरहेको थियो । 

मूल्य निर्धारणसँगै अब जताततै पेट्रोलियम पदार्थको कारोबार नहुने प्रजिअ पौडेलले बताए । विसं २०६२ मा कर्णाली राजमार्ग शुरु भएदेखि हालसम्म पेट्रोलियम पदार्थमा भइरहेको महङ्गी र कालोबजारी बारे कसैको ध्यान पुग्नसकेको थिएन । 

पेट्रोलियम पदार्थ ल्याउने ट्याङ्करको भाडा, अहिलेको मूल्य, मजदूर ज्याला, छिमेकी जिल्लाको मूल्यलाई विश्लेषण गरेर पेट्रोलियम पदार्थको मूल्य तोकिएको हो । 

बैठकले गरेको पेट्रोलियम पदार्थ सम्बन्धीको निर्णय कार्यान्वयन नगर्ने जो सुकैलाई कारवाहीको दायरामा ल्याइने प्रशासनले चेतावनी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्