मिथिला कलाका अग्रणी विजयदत्त मणि



जनकपुरधाम : पेशामा अङ्ग्रेजीका शिक्षक विजयदत्त मणिले पछिल्लो समय मैथिली साहित्य र कलाको विकासमा निरन्तरता दिन थालेका छन् ।  

जनकपुरधाम उपमहानगरपालिका–४ सरस्वतीनगरका बासिन्दा उनी एक सामान्य शिक्षक मात्र नभई मैथिली भाषाका कवि, मैथिली भाषा प्रचारक तथा मिथिला कलाको गुरुका रूपमा पनि परिचित छन् । सरस्वतीनगरस्थित उनको घरमा पुग्दा उनी कि मिथिला संस्कृति झल्काउने खालका कलामै रमेको कि त मिथिला पाग (टोपी) बनाउँदै गरेको अवस्थामा भेटिन्छन् । 

भ्रमरपुरा मावि, महोत्तरीमा निमावितर्फ अङ्ग्रेजी शिक्षकको रूपमा कार्यरत विजयदत्त घरमै मिथिला कला झल्काउने खालका टि म्याट, मोबाइल कभर, नेपाली खादा, टेबुल क्लोथ, बनाउँछन् । उनी माटो तथा सिमेन्टका मूर्ती पनि बनाउन सिपालु छन् । 

विजयदत्तले बनाएका यस्ता पाग, नेपाली खाँदा, विभिन्न समारोहमा निकै प्रयोग हुन थालेका छन् । सम्मान समारोहका लागि प्रयोग हुने रु १०० देखि रु पाँच हजार मूल्यसम्मका टोपी पनि उनी बनाउँछन् ।

यस पटक विवाह पञ्चमीमा अयोध्याबाट जन्तीको रूपमा जनकपुरधाम आएका भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई दुलहीपट्टृीबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले स्वागत गर्दा विजयदत्तले नै बनाएको पगरीसहितको मिथिला टोपी (पाग) लगाइदिइएको थियो । उक्त टोपीमा मिथिला र उत्तर प्रदेश अवधको मिश्रित संस्कृति झल्किएको उनी बताउँछन् । 

त्यस्तै टोपी मन्दिरका महन्थ र मुख्यमन्त्रीलाई पनि लगाइएको थियो । उनका चित्रकला जनकपुरकै रामानन्द चोकका पिलर तथा भित्तामा देख्न पाइन्छ भने सीता प्यालेस होटेलमा पनि भित्तामा उनकै चित्रकला सजाइएको छ । 

यसै गरी रारा बहुमुखी क्याम्पस, जनकपुरको मैथिली विभागमा पनि आफ्नै चित्रकला सजिएको विजयदत्त बताउँछन् । 

यस्तो कलामा कसरी आकर्षित भइयो त ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, “यो मलाई ईश्वरको वरदान नै हो । मैले कतै गएर कसैसँग सिकेको छैन ।” 

“पहिले त यस कलामा विदेशीको मात्रै चासो थियो । उनीहरू बुझ्न आउँथे र किनेर लैजान्थे, अहिले भने देशभित्र पनि चासो बढेको छ ।” उनी भन्छन्, “प्रदेश २ का पर्यटन सचिव विद्यानाथ झासँग पनि कुरा गरी हामी आफै उत्पादन गरेर आफै बजार खोजौँ भनेको छु । उहाँले आफ्ना कलाकृति प्रदर्शनीका लागि सहयोग गर्ने आश्वासन दिनुभएको छ ।” 

आफूले बनाउने मिथिला कला तथा हस्तकलाका सामानमा कपडा, कुट, नेपाली कागज, फेवीकोल आदि प्रयोग गर्ने गरेको जानकारी दिँदै उनी भन्छन्, “यस्ता सामान र कलाको बजार अत्यन्त राम्रो छ तर बजारको माग अनुसार उत्पादन भइराखेको छैन ।” 

मिथिला क्षेत्रमा घर सजाउन प्रयोग गरिने रङ्ग र बुट्टालाई नै आफूले संस्कार संरक्षणको रूपमा क्यानभासमा उतारेको र यस्ता कला आमाबाट छोरीमा पुस्तान्तरण हुँदै आजसम्म आएकामा अब भने यसका लागि इन्स्टिच्युट नै खुल्नुपर्नेमा विजयदत्त जोड दिन्छन् । 

बाल्यकालमा रहरले कलाकारिता गरे पनि विगत २२ वर्षदेखि भने व्यावसायिक रूपमै लागिरहेको र अब चाँडै मिथिला साक्षरता अभियान पनि चलाउने प्रयासमा रहेका उनले मिथिलाक्षर लिपिको साक्षरताका लागि ‘मनोरम पोथी’ नामक पुस्तक लेखेका छन् । आफ्नै तर्फबाट प्रदेश २ का आठ वटै जिल्लामा निःशुल्क साक्षरता अभियान चलाउने योजना विजयदत्तको छ । 

मिथिला चित्रकलाको दर्शन र सिटिइभिटीको मैथिली चित्रकलाको पाठ्यक्रम निर्माण, राजनीतिक व्यङ्ग्य चित्र निर्माण गर्दै आएका मैथिली साहित्यकार समाजका संस्थापक सचिव विजयदत्तले हराउन लागेको कला संस्कृतिको संरक्षणमा ठूलो योगदान पुर्‍याएका छन् । 

मिथिला भाषा, कला संस्कृतिको सम्बन्धमा यसरी खटिने विजयदत्तजस्ता प्रतिभालाई प्रोत्साहन, सम्मान गर्दै संस्कृतिको संरक्षणमा सरकारले पहल नगरे कलाकारको अन्त्यसँगै कलाको अस्तित्व पनि सङ्कटमा पर्नेतर्फ सम्बन्धित सबैको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्