दीपकराज र दीपाश्रीसहित सात सम्मानित



विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोस्थित उज्ज्वल भविष्य बालसमूहले कलाकार र पत्रकारसहित विभिन्न क्षेत्रका सात व्यक्तिलाई सम्मान गरेको छ ।

 

बालसमूहको चौथो वार्षिक उत्सवको अवसर पारेर रमाइलोमा एक भव्य समारोहबीच कलाकार, साहित्यकार, पत्रकार र समाजसेवी तथा उद्योगीलाई क्लबले सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरूमा कलाक्षेत्रबाट अभिनेता दीपकराज गिरी, निर्देशक तथा निर्माता दिपाश्री निरौला, गायक सुमित खड्का, गायिका मेनुका पाण्डे, पत्रकार अनिल श्रेष्ठ, साहित्यकार गंगा सुवेदी र समाजसेवी तथा उद्योगी बेनीगोपाल मुन्दडा छन् । 

समाज र राष्ट्रका लागि आआफ्नो क्षेत्रबाट विशिष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको उज्ज्वल भविष्य बालसमूहका संरक्षक सदस्य एविन पाठकले जानकारी दिए ।  

सम्मानित व्यक्तिहरूलाई कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका उपप्रमुख राजमती इङ्नाम, क्लबका अध्यक्ष विद्या दुलाल र कार्यक्रम संयोजक नवीन श्रेष्ठले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

सोही अवसरमा यहाँका सरकारी तथा विभिन्न विद्यालयमा अध्ययरत बालबालिकालाई क्लबले न्यानो कपडा तथा स्कुल जाने ब्यागसमेत वितरण गरेको थियो । क्लबले वार्षिक उत्सवमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष दुलालले जानकारी दिए । क्लबका माध्यमबाट यहाँका बालबालिकाको क्षमता एवं दक्षता अभिवृद्धि गर्न उल्लेख्ख भूमिका खेल्दै आएको दुलालले बताए । क्लबले यहाँका बालबालिकाको नेतृत्व विकास गर्न विभिन्न कार्यक्रमसमेत गर्दै आएको छ । 

कार्यक्रममा हास्यकलाकार समेत रहेका गिरी र निरौलाको प्रस्तुतिले रमाइलोवासीले छुट्टै मनोरञ्जन लिए । दिपाश्रीले निर्देशन गरेको सुपरहिट चलचित्र ‘छक्कापञ्जा ३’ को चर्चित ‘फन फन घुमेको कम्मरमा है, औंठी बैना मारे पहिलो नम्बरमा ….  बोलको गीतमा नृत्य प्रस्तुत गरिन् । त्यस्तै गायक सुमित खड्काले आफ्नो राष्ट्रिय गीत प्रस्तुत गरेर रमाइलोवासीलाई नचाए भने गायिका मेनुका पाण्डेले हिन्दी र नेपालीका चर्चित गीत गाएर मन्त्रमुग्ध बनाइन्  । कार्यक्रममा स्थानीय विद्यालयका बालबालिकाले नृत्य र गीत गाएर थप मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्