भ्रष्टाचारीको लिस्ट कांग्रेससँग छ : देउवा



विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय सरकार भ्रष्टाचारी र बलात्कारीलाई जोगाउन लागेको आरोप लगाएका छन् । 

मोरङको लेटाङमा शनिबार मगर संघको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राज्यको ढुकुटी सक्न सक्रिय बनेर लागेको सरकारले मुलुकमा कुनै पनि राम्रा काम गर्न नसकेको टिप्पणी गरे । उनले उद्योग र व्यापारमाथि जथाभावी करको बोझ थोपरेर सरकारले तमासा देखाइरहेको उल्लेख गरे ।

उनले दुईतिहाइको दम्भ बोकेर सरकारले उद्योग र व्यापारलाई धराशायी बनाउने खेल खेलिरहेको र यस्तो गलत कामको सबैले प्रतिवाद गर्नुपर्ने बताए । उनले सरकारले जथाभावी लगाएको करले मुलुकलाई आर्थिक रूपमा कमजोर बनाउँदै लगेको जिकिर गरे ।

देउवाले उद्योग र व्यापारसँगै मुलुक चौपट हुँदै गएको र यसमा मुख्य भूमिका अहिलेको सरकारले खेलिरहेको आरोप लगाए ।  सरकारले जथाभावी लगाएको करको कांग्रेसले खुलेर विरोध गरिरहेको देउवाको भनाइ छ । 

‘सरकारले उद्योग र व्यापारलाई मार्नेभन्दा पनि उकास्ने हिसाबमा काम गर्नुपर्छ,’ उनले भने, ‘सरकारले नियन्त्रणमुखी नीति अपनाएर अघि बढिरहेकाले कांग्रेसले कुनै हालतमा स्वीकार गर्दैन ।’ मुलुकमा दिनानुदिन अराजकता र हत्याहिंसा बढ्दै गएको उनको भनाइ छ ।

 

सरकारले बलात्कारीलाई कानुनी दायरामा ल्याउनुको साटो संरक्षण गरिरहेको आरोप लगाएका उनले बलात्कार र भ्रष्टाचार गर्नेलाई कानुनी दायरामा नल्याए मुलुकभर आन्दोलन चर्काउने चेतावनी दिए । उनले कांग्रेसको विद्यान समावेशी सिद्धान्तमा संशोधन भएकाले सबै जातजातिलाई समान अधिकार दिइएको बताए । 

 

वाइडबडी विमान खरिद प्रकरणमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको बारे देउवाले आशंका व्यक्त गरे । यस्तो समिति गठन गरेर सरकारले भ्रष्टाचारीलाई प्रश्रय दिइरहेको उनको भनाइ छ ।

 

अनियमितता र भ्रष्टाचारलाई ढाकछोप गर्न छानबिन समिति गठन गर्ने नाममा वाइडबडी प्रकरणमा मुछिएकालाई छुटकारा दिन खोजिएको उनको आरोप थियो । ‘भ्रष्टाचार गर्नेहरूको लिस्ट कांग्रेसले राखिरहेको छ,’ उनले भने, ‘अहिलेको सरकारले छुटकारा दिए पनि मौका आउन साथ कांग्रेसले भने छाड्दैन ।’ 

 

सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले छानबिन प्रतिवेदन मूलसमितिमा नपठाई सार्वजनिक गर्नु बदनियतपूर्ण देखिएको सरकारले दाबी गरिरहँदा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाले भने समिति गठनलाई सरकारले भ्रष्टाचार ढाकछोप गर्ने अस्त्रका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाए । उनले भ्रष्टाचार र अनियमितता गर्नेलाई कांग्रेसले भने नछाड्ने दोहो¥याए । 

प्रतिक्रिया दिनुहोस्