अपडेट: बलात्कारी भगाउने प्रहरीकाे बर्दी खाेसियाे !



काठमाडाैं : ललितपुर महानगरीय प्रहरी बृत चापागाउँका डिएसपी राजकुमार खिउजूले इलाका प्रहरी कार्यालय टंगोल छोडेर हिडेका प्रहरीहरुको बर्दी थुतेर थुनामा राखिएको बताएका छन् ।

 

बलात्कारीलाई भगाएको भन्दै बिहीबार स्थानीयले इप्रका घेराबन्दी गरेपछि ७/८ जनाको संख्यामा रहेका प्रहरीहरु भागेका थिए । तर उनीहरु भागेको नभइ सबैको आँखा छलेर चौकीबाट फरार भएका अभियुक्तलाई खोज्न हिडेको डिएसपी खिउजूले बताए । विशेष परिस्थितिमा उनीहरु चौकी छोडेर हिडेकोको कारवाही गरिने बताएका छन् ।

 

उनले चौकीबाट सबैको आँखा छलेर भागेका अभियुक्तलाई समेत जुनसुकै हालतमा पक्राउ गरिने बताए । “छानविन गरेर गल्ती गरेका प्रहरीमाथि कारवाही हुन्छ । उहाँहरुलाई अहिले थुनामा राखिएको छ’ डिएसपी खिउजुले  भने – ‘फरार भएको त्यो केटालाई पनि जुनसुकै समात्छौ हामी ।’

 

बुधबार राति जिल्लाको महांकाल गाउँपालिका गोटिखेलकी एक १३ वर्षिया बालिकामाथि जबर्जस्ती प्रयास गर्न लागेको अवस्थामा बालिकाका आमाबाबुले रंगेहात फेला पारेका थिए । आमाबाबु देखेर पाइन्ट र भित्रि बस्त्र (अन्डरवेयर) कोठामै छोडेर भागेका ती युवकलाई स्थानीयले नियन्त्रणमा लिएर बिहीबार बिहान ४ बजे इलाका प्रहरी कार्यालय टंगोलमा बुझाएका थिए ।

 

करिब बिहान ९ बजे दोषीलाई कारवाहीको माग गर्दै जनप्रतिनिधि र स्थानीयहरु प्रहरी चौकी पुगे । प्रहरीले जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिरहेको अवस्थामा प्रहरी चौकीभित्रै रहेका ती युवक पछाडिको झ्यालबाट भागेको प्रहरीले जनाएको छ । तर स्थानीयले भने प्रहरीकै मिलेमतोमा अभियुक्त भगाइएको आरोप लगाएका छन् ।

 

यता जनप्रतिनिधिसहित पिडीत परिवार र स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै प्रहरी चौकीको ढोकामै धर्ना दिइरहेको अवस्थामा प्रहरीले ती युवकलाई झ्यालबाट भगाएको महाकाल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहालले बताए ।

 

महांकाल गाउँपालिका प्रमुख दाहालले द नेपाल टपलार्इ दिएकाे जानकारी अनुसार ती युवक भारतिय रहेकाे बुझिएकाे छ । उनी ललितपुरमा ग्रील उद्याेगमा काम गर्दै अाएका मजदुर रहकाे अनुमान स्थानियकाे छ ।

 

बुधबार रातिसम्म तनावग्रस्त बनेकाे टंगालमा दोषी प्रहरीलाई कानुनबमोजिम कारवाही गर्ने, विभागीय कारवाही गर्ने, इप्रका टंगोलमा नयाँ प्रहरी अधिकारी पठाउने, अभियुक्तलाई जुनसुकै हालतमा खोजेर पक्राउ गर्ने र मुद्दा दर्ता गरेर आवश्यक कारवाहीका लागि अनुसन्धान गर्ने सहमति भएपछि स्थानीय घर फर्किएका हुन् ।


याे पनि पढ्नुहाेस्

प्रहरीले बलात्कारी भगाएपछि ललितपुर तनावग्रस्त

प्रतिक्रिया दिनुहोस्