त्रिनगर भन्सारमा एम्बुलेन्सका लागी पनि राति गेट खुल्दैनन्



कैलाली : धनगढीको त्रिनगर भन्सारमा कर्मचारीले रातिको समयमा ब्यारेल नखोल्दा कञ्चनपुरको पश्चिमी क्षेत्रबाट बिरामीलाई धनगढी ल्याउन तथा बिरामी पुर्याएर फर्किन समस्या भएको एम्बुलेन्स चालकहरूले गुनासो गरेका छन् ।

 

केही दिनयता त्रिनगर भन्सारको ब्यारेलमा ड्युटी गर्ने कर्मचारीले बिरामी नभएको एम्बुलेन्स आवतजावतमा रोक लगाइरहेकाले कञ्चनपुरको पुनर्वास, बेलौरी तथा बेल्डाँडीका बिरामीलाई धनगढी ल्याउन समस्या भइरहेको उनीहरूले बताए ।

 

धनगढी तथा अन्य क्षेत्रबाट रातिको समयमा बिरामीलाई घर छाडेर फर्किँदा आउन नदिने र सो क्षेत्रबाट बिरामीलाई ल्याउनका लागि जाने बेला ब्यारेल नखोल्दा आवतजावतमा समस्या भएको एम्बुलेन्स चालकको गुनासो छ ।

 

पुस १४ गते पुनर्वास नगरपालिकाका एक बिरामीलाई छाडेर धनगढी फर्किरहेको एम्बुलेन्सलाई त्रिनगर भन्सारको ब्यारेलबाट धनगढी आउनमा रोक लगाएको एम्बुलेन्स चालक संघ कैलालीका अध्यक्ष लक्ष्मणबहादुर सिंहले बताए ।

 

भन्सार अधिकृतलाई समस्या सुनाएपछि समस्या समाधान गर्ने आश्वासन आए पनि तर समाधान हुनुको सट्टा फेरि १७ गते राति बेलौरीका बिरामी छाडेर धनगढी फर्किरहेको एम्बुलेन्सलाई धनगढी आउनमा रोक लगाएको उनले बताए ।

 

एम्बुलेन्स रातिकै समयमा बढी आवश्यक्ता पर्ने भए पनि त्यसबेला नेपालकै भन्सारमा अल्झाउँदा समस्या भइरहेको अध्यक्ष सिहंको भनाइ छ ।

 

आपतकालीन अवस्थामा बिरामी ल्याउन कञ्चनपुरको पश्चिमी क्षेत्रमा जान रोक लगाउँदा बिरामीलाई समयमा ल्याउन नसकिएको उनले बताए । साथै बिरामी छाडेर धनगढी फर्किने बेला पनि खाली एम्बुलेन्स भन्दै रोक लगाए पनि चालक समस्यामा पर्ने गरेको उनको गुनासो छ ।

 

एम्बुलेन्स चालक संघ कैलालीका सचिव मदन ढुंगानाले पुनर्वास क्षेत्रमा बिरामीलाई छाडेर धनगढी फर्किँदा भन्सार कर्मचारीले आफूलाई पनि ब्यारेलमा रोकेको सुनाए । खाली एम्बुलेन्स भनेर आवतजावतमै रोक लगाउँदा बिरामी ल्याउन तथा छाडेर फर्किन समस्या भएको उनले बताए ।

 

कुनै शंका लागेमा जाँच गर्ने भन्सार कर्मचारीको अधिकार भए पनि बिनाकारण भन्सारमा रोक्दा बिरामीसँगै चालकलाई पनि समस्या भएको उनले बताए ।

 

कैलाली भन्सार कार्यालयका प्रमुख इश्वरीप्रसाद अर्यालले केही दिनअगाडि एम्बुलेन्सहरूले पनि समान बोकेर आउने गरेको खबरपछि जाँचमा कडाइ गरेको तर ब्यारेलमा रोकेर नराखेको दाबी गरे ।

 

केही कारणले एम्बुलेन्स ब्यारेलमा रोकिए पनि त्यसम्बन्धी गुनासोपश्चात् एम्बुलेन्सलाई राति पनि सहज तरिकाले आवतजावत गराउन निर्देशन दिइसकेको उनले बताए । शंका लागेमा एम्बुलेन्स पनि जाँच हुने बताउँदै उनले बिरामी र चालकलाई समस्या हुनेगरी ब्यारेलमा नराक्न निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्