लाइसेन्समा अनियमितता गर्ने ११ कर्मचारीलाई जेल



काठमाडौं : सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । 

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बाग चन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो ।  

कार्यालय प्रमुख पवन सुवेदी र अधिकृत सीताराम खनाललाई जनही आठलाख रुपैयाँ जरिवानासहित तीन महिना जेल तोकिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिएका हुन् । 

त्यसैगरी अधिकृत डेकराज पोखरेल, नायव सुब्बाहरु डिलाराम खरेल, सतानन्द उपाध्याय, हुतराज पौडेल, अरुणकुमार गौतम, केशवराज डाँगी, गणेशमान आचार्य, ललितबहादुर वली र दीपेन्द्रबहादुर सिंहलाई जनही पाँच हजार जरिवानासहित तीन महिना जेल सजायको फैसला भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्