३२ लाख गाडी, एक लाखले गराउँछन् प्रदूषण जाँच



काठमाडौं : देशैभर सवारीसाधनको चाप बढ्दै गए पनि प्रदूषण मापदण्ड भने खुकुलो हुँदै  गएको छ । यातायात व्यवस्था विभागका अनुसार गत वर्ष देशभर ३२ लाख २१ हजार सवारीसाधन दर्ता भएका छन् । जसमध्ये २५ लाख १२ हजार मोटरसाइकल मात्र दर्ता भएका छन् ।  

अहिले चारपांग्रे गाडीको प्रदूषण जाँच हुने गरे पनि मोटरसाइकलको जाँच गर्ने व्यवस्था छैन । सार्वजनिक सवारीसाधनलाई ६ महिनामा एकपटक र निजी गाडीको एक वर्षमा प्रदूषण जाँच गर्ने व्यवस्था छ । 

प्रदूषण जाँच गर्ने समयावधि लामो भएपछि सवारीसाधनले अत्यधिक प्रदूषण गर्ने गरेका छन् । धुलोमा थप धुवाँ मिसिँदा कार्बनमोनोअक्साइडले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पार्ने गरेको वातावरणविद्हरूको भनाइ छ ।

यसकारण गाडीलेधेरै धुवाँ फाल्छ 

यातायात व्यवस्था विभाग प्राविधिक शाखाका प्रमुख यमबहादुर क्षेत्रीले गाडीले धुवाँ फाल्नुमा धेरै कारण हुने बताए । ‘गाडीले धुवाँ फाल्ने धेरै कारण हुन्छन्,’ क्षेत्रीले भने, ‘गाडी समय–समयमा मर्मत–सम्भार नहुँदा, स्पेयर पार्टस् गुणस्तरीय नहुँदा, तेल गुणस्तर नहुँदा पनि धेरै धुवाँ फाल्छ,’ उनले भने । कहिलेकाहीँ गाडीमा ओभरलोड हुँदा धेरै धुवाँ फाल्ने क्षेत्रीले बताए । 

उपत्यकामा प्रदूषण जाँच तीन ठाउँबाट 

सरकारले उपत्यकाका तीन ठाउँमा सवारी प्रदूषण जाँच गर्ने व्यवस्था मिलाएको छ । यातायात व्यवस्था कार्यालय एकतान्तकुना, टेकु, सानो भ¥याङ र भक्तपुरको सल्लाघारीमा सवारी जाँच गरिन्छ । 

गत वर्ष एकान्तकुनाबाट ६५ हजार ४२४ गाडीले जाँच गरेका थिए भने टेकुबाट १२ हजार ९५२ र सानो भ¥याङबाट २० हजार ९८४ गाडीको जाँच गरिएको थियो । 

गाडीको प्रदूषण जाँच कर्मकाण्डी 

डिजेलबाट चल्ने गाडीको प्रदूषण ६५ एचएसयुभन्दा कम हुनुपर्ने व्यवस्था छ । पेट्रोलबाट चल्ने गाडी भए तीन प्रतिशतभन्दा कम कार्बनमोनोअक्साइड हुनुपर्नेछ । यसरी जाँच गर्ने वेला मात्र मापदण्ड भए पुग्छ, अन्य समयमा चेकजाँच नहुने भएकाले सवारीसाधन जाँच कर्मकाण्डीजस्तै हुन पुगेको छ । 

सवारी जाँचका लागि ३५ रुपैयाँसहित हुलाक टिकटको व्यवस्था गरिएको छ । यदि मापदण्डविपरीत भए ट्राफिक प्रहरीले एक हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । मापदण्डदेखि जरिवाना पनि थोरै भएकाले सवारी प्रदूषण जाँच कर्मकाण्डीजस्तै हुन पुगेको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्