पाल्पामा सवारी दुर्घटना बढ्दो



रुपन्देही : रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का २५ वर्षीय सिद्धान्त थापाको सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै सवारी दुर्घटनामा मृत्यु भयो । पाल्पा तिनाउ गाउँपालिका–३ डयाम साइटमा लु१९प २८०३ नंको स्कुटीले लु२ख १७६३ नंको टिप्परलाई ‘ओभरटेक’ गर्दा ठोक्किन पुग्यो ।

दुवै यातायातका साधन पाल्पाबाट बुटबलतर्फ जाँदा भएको दुर्घटनामा थापा गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल बुटबल उपचारार्थ लगियो । थापाको मृत्यु भइसकेको अस्पतालले घोषणा ग¥यो ।

पाल्पामा सवारी दुर्घटनाबाट मृत्यु हुने क्रम रोकिएको छैन । सवारी दुर्घटनामा अकालमा ज्यान गुमाउनेमा थापामात्र एक्ला होइनन् । चालु आवको पाँच महिनामा १० जनाको मृत्युको कारण सवारी दुर्घटना हो जिल्लाका मुख्य तथा सहायक सडकमा साना ठूला १०७ दुर्घटना भइसकेको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख पृथ्वीकुमार काफ्ले बताए।

दुर्घटनामा ७१ गम्भीर र १७४ सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले सडकमै सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना रोकिएको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपेन्द जिसीले चालकका कारण ७० प्रतिशत दुर्घटना हुने बताए। मोबाइल प्रयोग गरी सवारीसाधन चलाउने र मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेका हुन् । सडक, पैदल यात्रु, पशुपन्छी लगायतका कारण ३० प्रतिशत सवारी दुर्घटनामा परी मानवीय क्षति हुँदै आएको छ । सडक मापदण्डअनुसार निर्माण हुन सकेको छैन ।

अधिकांश साँघुरा, खाल्डा सडकमा सवारी जोगाउन चालकले कोसिस गर्दा अर्को सवारीको ठक्करबाट दुर्घटना बढेको प्रहरीको दाबी छ । ट्राफिक नियमपालन नगर्दा दुर्घटना बढेको छ । सांसद सोमप्रसाद पाण्डेयले ट्राफिक जनचेतनाले मात्र सवारी दुर्घटनामा कमी नहुने र यसमा कमी ल्याउन सबै जिम्मेवार हुनुपर्ने बताए।

सडक यात्रुदेखि, सवारीचालक, प्रहरीलगायत सबैको चासो र जिम्मेवारी बहन गर्न तयार भएमात्र सवारीसाधन दुर्घटना कमी ल्याउन सकिने तर्क पाण्डेयको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सवारी दुर्घटना न्यूनीकरणमा सबैको चासो हुनुपर्ने बताए।

कालोपत्रे सडकमा सवारीसाधन रोकिँदा समस्या बढेको शाहीको टिप्पणी छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सवारी दुर्घटनामा कमी ल्याउन सबै पक्ष जिम्मेवार हुन आवश्यक रहेको बताए। श्रीनगर यातायात कम्पनीका अध्यक्ष डिलबहादुर ढुङ्गानाले सडक व्यवस्थापन उचित रुपमा गर्नुपर्ने बताए।

सवारी दुर्घटना न्यूनीकरणका लागि सप्ताहव्यापी ट्राफिक जनचेतनामूलक कार्यक्रम आइतबारदेखि पाल्पामा शुरु भएको छ । कार्यक्रम पुस १९ गतेसम्म चल्नेछ । सांसद पाण्डेयले सवारी न्यूनीकरणसम्बन्धी स्ट्रिकर सवारीसाधन टाँसेर अभियानको शुरुआत गरे।

जनचेतनामूलक कार्यक्रम अवधिभर सडक पेटीबाट हिँडौँ, पेटी नभएको ठाउँमा सडकको दाहिने किनाराबाट हिँडौँ, सार्वजनिक यातायातमा यात्रा गर्दा आरक्षित सिटमा तोकिएको व्यक्तिलाई प्राथमिकता दिऔं भन्ने जनचेतना फैलाउने जनाइएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्