आठ महिनामा ७७ विदेशी निकाला, बैंकिङ कसुरदेखि अपहरणसम्म अभियोग



काठमाडौं : सरकारले वैशाखयता आठ महिनामा ७७ विदेशीलाई देशनिकाला गरेको छ । लागुऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन् ।  

गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसाविना नै नेपाल बसेका ३४ विदेशीलाई निकालिएको छ । उनीहरूलाई कम्तीमा एकदेखि तीन वर्षसम्म नेपाल प्रवेश नपाउने गरी निकाला गरिएको छ । 

त्यस्तै, १३ विदेशी बैंकिङ कसुर गरेको अभियोगमा निकालिएका छन् । उनीहरू कम्तीमा तीन वर्षसम्म नेपाल बस्न पाउनेछैनन् ।  

जाली भिसा प्रयोग गरेर बस्दै आएका १० जनालाई पाँच वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाउँदै निकाला गरिएको छ । यस्तै, लागुऔषध तथा बालयौन दुराचारमा संलग्न पाँच विदेशीलाई १० वर्षसम्म नेपाल छिर्न नपाउने गरी कारबाही गरिएको छ । 

धर्म परिवर्तन गराउँदै हिँड्ने तीनजनालाई पाँच वर्षसम्म नेपाल छिर्न प्रतिबन्ध लगाएर निकाला गरिएको छ । यो कसुरमा दुई जापानी र एक अस्ट्रेलियन कारबाहीमा परेका हुन् । 

खोटा सिक्का अपचलन अभियोगमा तीन विदेशीलाई तीन वर्षका लागि निकाला गरिएको छ भने हुन्डी कारोबारमा संलग्न दुई र सुन तस्करमा संलग्न दुईजनालाई दुईदेखि तीन वर्षसम्म प्रवेश नपाउने गरी पठाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्