हाकिमकै मिलेमतोमा राजश्व छलि हुने व्यापारिले बताउँदा महानिर्देशक बुरुक्क



विराटनगर : संघीय राजधानी काठमाडौंपछिको आर्थिक हिसाबले दोस्रो ठूलो क्षेत्रका रुपमा चिनिने विराटनगरमा राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली र आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद कुँवरकै सामुन्य व्यापारीहरुले राजश्व चुहावट हुनु व्यापरीहरुको मात्र दोष नभएको बताएका छन् ।

उनीहरुले राजश्व चुहावट सरकारी उच्च तहबाटै सेटिङमा हुने गरेको तथ्य समेत सार्वजनिक गरेका थिए । यसरी व्यापारीहरुले सरकारी उच्च अधिकारीकै संलग्नताको बारेमा बोलेपछि राजश्व अनुसन्धान विभागमा महानिर्देशक मैनाली र आन्तरिक राजश्व विभागका महानिर्देशक कुँवर रातोपिरो भएका थिए ।

यस्तै उद्योगी–व्यवसायीको राजश्वसम्बन्धी विवादलगायत विभिन्न कारणले राजधानी नै धाउनुपर्ने बाध्यतालाई हटाउन मुख्य औद्योगिक कोरिडोरलाई आधार बनाई प्रत्येक प्रदेशमा राजश्व न्यायाधीकरण लगायतका प्रदेशस्तरीय कार्यालयहरूको स्थापना गर्न कार्यालयको स्थापना गर्न माग गरिएका छन् । भन्सार, आन्तरिक राजश्व र राजश्व अनुसन्धान विभागको आयोजनामा गत शुक्रबार विराटनगरमा भएको राजश्व चुहावटसम्बन्धी कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले यस्तो आग्रह गरेका हुन् ।

पूर्वका व्यवसायीका तर्फबाट उनले प्रस्तुत गरेको कार्यपत्रमा नीति क्षेत्रप्रति मुलुक उदार हुनुपर्नेमा यस क्षेत्रलाई दिनानुदिन क्षण–क्षण, कदम–कदममा निराशा र हतोत्साहित बनाउने बाहेक अरू केही अनुभूति गराउन नसकेको औल्याइएको छ ।

यस्तै अध्यक्ष मुन्दडाले उच्चतम कर तथा शुल्कहरू निर्धारण हुँदा मुलुकका सच्चा करदाताहरूलाई थप भार पर्न गई धराशायी र पलायन हुनेजस्ता विकृति देखिने खतरा भएको संकेत गरे । अध्यक्ष मुन्दडाले व्यापार व्यवसाय, उद्योग कल–कारखानाहरूमा भएको लगानीमा स्रोत खुलाउनु पर्ने र पैतृक सम्पत्ति हुनेहरूले कानुनले मागेबमोजिम स्रोत पुष्टि गर्नसक्ने प्रमाण कागजात पेश गर्न असमर्थ हुने हुँदा सम्पूर्ण नागरिकलाई एक पटक आफ्नो सम्पत्तिको स्वघोषणाको अवसर दिनुपर्ने तर्क समेत पेश गरेका थिए ।

यसका साथै सम्पत्ति शुद्धीकरणका लागि उद्योगी व्यवसायीमा डरत्रासको माहौल सृजना गराउनुको साटो सहकार्यमा जाने वातावरणको सृजना गरिनुपर्ने धारणा प्रकट गरे । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष अशोक मुरारकाले सरकारी अधिकारी नमिली निजी क्षेत्रले मात्र राजश्व चुहावट गर्न नसक्ने बताउँदै एउटालाई मात्र चोर ठानेर अर्को पक्षलाई साधु ठान्ने परम्परा रहेको चर्चा गरे । कार्यक्रममा राजश्व अनुसन्धान विभागका महानिर्देशक मैनालीले राजश्वले अहिलेसम्म कुल १५ अर्ब बिगोका मुद्दा ५ सय व्यक्तिलाई चलाइसकेको जानकारी दिएका थिए ।

महानिर्देशक मैनालीले यसरी मुद्दा खेप्नेमा ८ जना सरकारी कर्मचारी पनि रहेको उल्लेख गरेका थिए । कार्यक्रममा भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारी र उद्योग संगठन मोरङका पूर्वअध्यक्ष अशोक मुरारका, पूर्वाञ्चल क्षेत्रीय ढुवानी संघका अध्यक्ष गुणराज निरौला, विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष मेघराज सिग्देल, व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार शारडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले राजश्व चुहावटका बारेमा आआफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्