काठमाडौं : नेपालले अन्य देशबाट रेमिट्यान्स भित्र्याउने गरिरहेको छ । तर, नेपालबाटै अन्य देशले रेमिट्यान्स लगेको भन्ने कुरा कमैलाई थाहा होला । हो, अहिले यस्तै अवस्था रहेको छ । नेपालबाट वर्षेनी ६ मुलुकले साढे ३ खर्ब रुपैयाँभन्दा बढी रकम रेमिट्यान्समार्फत लैजाने गरेको पाइएको तथ्य सार्वजनिक भएको छ ।
यसरी नेपालबाट सबैभन्दा बढी रेमिट्यान्स लैजाने मुलुकमा दुई ठूला छिमेकी राष्ट्र भारत र चीन रहेका छन् । भारत र चीनबाट जति रेमेट्यान्स नेपाल भित्रिन्छ, त्यसको तीन गुणाभन्दा बढी रेमिट्यान्स ती दुई मुलुकले नेपालबाट लैजाने गरेको एक अध्ययनले देखाएको छ ।
अमेरिकाको वासिङ्टनस्थित अनुसन्धान संस्था पियु रिसर्च सेन्टरले गरेको अध्ययनअनुसार सन् २०१७ मा नेपालबाट ६ मुलुकले ३ अर्ब २२ करोड ६० लाख अमेरिकी डलर (करिब ३ खर्ब ६४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ) रेमिट्यान्स लगेको देखिएको छ । नेपालबाट रेमिट्यान्स लैजाने ६ मुलुकमा चीनबाहेक सबै दक्षिण एसियाली मुलुक रहेका छन् ।
त्यसोत नेपालबाट साढे ३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स लैजाने मुलुकमा भारत, चीन, भुटान, पाकिस्तान, श्रीलंका र बंगलादेश छन् । पियुको अध्ययन प्रतिवेदनअनुसार नेपालबाट बढी रेमिट्यान्स लैजाने देशमा क्रमशः भारत, चीन, भुटान, पाकिस्तान, श्रीलंका र पाकिस्तान छन् ।
नेपालबाट सबैभन्दा बढी रेमिट्यान्स भारततिर जान्छ । सन् २०१७ मा नेपालबाट ३ अर्ब १ करोड ६० लाख अमेरिकी डलर (करिब ३ खर्ब ४० अर्ब ८० करोड ८० लाख रुपैयाँ) रेमिट्यान्स भारत गएको पियुको अध्ययनले देखाएको छ । जुन नेपालबाट बाहिरिने कूल रेमिट्यान्सको ९३.४९ प्रतिशत हो ।
सन् २०१७ मा भारतबाट भने नेपालमा मात्र १ अर्ब २ करोड १० लाख अमेरिकी डलर (करिब १ खर्ब १५ अर्ब ३७ करोड रुपैयाँ) रेमिट्यान्स भित्रिएको थियो । भारतबाट भित्रिएको उक्त रेमिट्यान्स उक्त वर्ष नेपाल भित्रिएको कूल रेमिट्यान्सको १४.६२ प्रतिशत हो । अध्ययनमा सन् २०१७ मा ७२ देशबाट कूल ६ अर्ब ९७ करोड ९० लाख अमेरिकी डलर (करिब ७ खर्ब ८८ अर्ब ६२ करोड ७० लाख रुपैयाँ) रेमिट्यान्स नेपाल भित्रिएको देखाइएको छ । एक वर्षमा जति रेमिट्यान्स भारतबाट नेपाल आउँछ, त्यसको करिब तीन गुणा बढी भारत जाने गरेको छ ।
नेपालबाट रेमिट्यान्सको रूपमा दोस्रो ठूलो रकम चीन जाने गरेको छ । सन् २०१७ मा नेपालबाट १३ करोड ९० लाख अमेरिकी डलर (करिब १५ अर्ब ७० करोड ७० लाख रुपैयाँ) चीन भित्रिएको छ । नेपालबाट उक्त वर्ष बाहिरिएको कूल रेमिट्यान्सको यो ४.३० प्रतिशत हो । सोही वर्ष चीनबाट ५० लाख अमेरिकी डलर (करिब ५६ करोड ५० लाख रुपैयाँ) रेमिट्यान्स नेपाल भित्रिएको थियो, जुन नेपाल भित्रिएको कूल रेमिट्यान्सको ०.०७ प्रतिशत हो । चीनबाट जति रेमिट्यान्स नेपाल भित्रन्छ, त्यसको करिब २८ गुणाभन्दा बढी नेपालबाट चीन जाने गरेको छ ।
भारतबाट सबैभन्दा बढी रेमिट्यान्स लैजाने राष्ट्र बंगलादेश हो भने नेपाल दोस्रो नम्बरमा रहेको छ । बंगलादेशले सन् २०१७ मा भारतबाट ४ अर्ब ३ करोड ३० लाख अमेरिकी डलर रेमिट्यान्स लगेको थियो । भारतले सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने सूचीमा नेपाल आठौं स्थानमा छ । युनाइटेड अर्ब इमिरेट्स, अमेरिका, साउदी अरब, कुवेत, कतार, बेलायत र ओमानपछि भारतले नेपालबाट ठूलो रकम बर्सेनि भित्र्याउने गरेको पियुको अध्ययनले देखाएको छ ।
चीनबाट रेमिट्यान्स बढी भित्र्याउने राष्ट्रको सूचीमा नेपाल ३२ औं स्थानमा छ । विश्वभरबाट चीनमा रेमिट्यान्स बढी जाने देशको सूचीमा नेपाल २५ औं स्थानमा ।
पियुको अध्ययन प्रतिवेदनअनुसार सन् २०१७ मा भारत र चीन दुई मुलुकले मात्र नेपालबाट ३ अर्ब १५ करोड ५० लाख अमेरिकी डलर (करिब ३ खर्ब ५६ अर्ब ५१ करोड ५० लाख रुपैयाँ) रेमिट्यान्स लगेका थिए । यो उक्त वर्ष नेपालबाट बाहिरिएको कूल रेमिट्यान्सको ९७.७९ प्रतिशत हो । उक्त वर्ष भारत र चीनबाट नेपालमा कूल १ अर्ब २ करोड ६० लाख अमेरिकी डलर (करिब १ खर्ब १५ अर्ब ९३ करोड ८० लाख रुपैयाँ) रेमिट्यान्स भित्रिएको थियो, जुन उक्त वर्ष नेपाल भित्रिएको कूल रेमिट्यान्सको १४.७० प्रतिशत हो ।
नेपालबाट सन् २०१७ मा भुटानले ३ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब ९५ करोड रुपैयाँ), पाकिस्तानले ३ करोड ३० लाख अमेरिकी डलर (करिब ३ अर्ब ७२ करोड रुपैयाँ), श्रीलंकाले २० लाख अमेरिकी डलर (करिब २२ करोड ६० लाख रुपैयाँ) र बंगलादेशले १० लाख अमेरिकी डलर (करिब ११ करोड ३० लाख रुपैयाँ) रेमिट्यान्स लगेको देखिन्छ ।
सन् २०१७ मा नेपालले भुटानबाट १० लाख अमेरिकी डलर (करिब ११ करोड ३० लाख रुपैयाँ) र बंगलादेशबाट ६ करोड ४० लाख अमेरिकी डलर (करिब ७ अर्ब २३ करोड रुपैयाँ) रेमिट्यान्स नेपाल भित्रिएको थियो । पाकिस्तान र श्रीलंकाबाट यस्तो रकम भित्रिएको देखिएको छैन ।
तथ्याङ्कले जति रकम नेपालले एक वर्षमा विदेशबाट रेमिट्यान्समार्फत भित्र्याउँ त्यसको करिब आधा रकम विदेशीले नेपालबाट लैजाने गरेको देखाउँछ । नेपालले ७२ देशबाट करिब ७ खर्ब ८८ अर्ब ६२ करोड ७० लाख रुपैयाँ भित्र्याएको छ भने ६ देशले नेपालबाट करिब ३ खर्ब ६४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ लगेका छन् ।
पियुको अध्ययनअनुसार सन् २०१७ मा सबैभन्दा बढी कतारबाट नेपालमा रेमिट्यान्स भित्रिएको थियो । उक्त वर्ष कतारबाट १ अर्ब ९६ करोड ८० लाख अमेरिकी डलर नेपाल भित्रिएको थियो । त्यसपछि ठूलो रकम साउदी अरबबाट १ अर्ब ८४ करोड १० लाख अमेरिकी डलर रेमिट्यान्सका रूपमा भित्रिएको थियो । कतार र साउदीपछि भारतबाट नेपालमा ठूलो रकम आएको थियो । त्यसपछि क्रमशः युनाइटेड अरब इमिरेट्स, अमेरिका, कुवेत, मलेसिया, बेलायत, अस्ट्रेलिया र बंगलादेशबाट नेपालमा ठूलो मात्रामा रेमिट्यान्स आएको थियो ।
पियुका अनुसार सन् २०१७ मा विश्वभरिबाट आप्रवासी कामदारले कूल ७ खर्ब २५ अर्ब अमेरिकी डलर आफ्नो घर पठाएका थिए । यो रकम सन् २०१६ भन्दा सात प्रतिशतले वृद्धि भएको थियो ।
सन् २०१६ मा विश्वभरबाट आप्रवासी कामदारले ५ खर्ब ८६ अर्ब अमेरिकी डलर घर पठाएका थिए । सन् २०१७ मा विभिन्न देशबाट ६३ अर्ब ८६ करोड ६० लाख अमेरिकी डलर चीनले रेमिट्यान्समार्फत प्राप्त गरेको थियो । चीन विश्वभरिमै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक हो ।