जिआइएस सिस्टममा जाँदै काठमाडौं महानगरपालिका



काठमाडौं : काठमाडौं महानगरपालिकाले एकीकृत र वास्तविक तथ्यांक राख्न जियोग्राफिकल इन्फर्मेसन सिस्टम (जिआइएस) सुरू गर्ने भएको छ । वस्तुगत तथ्यांक पुरानै शैलीमा रहँदा कार्यसम्पादन चुस्त हुन नसकेकाले जिआइएस सुरु गर्न लागिएको महानगरले जनाएको छ ।  

महानगरमा अहिले कम्युटरकृत र ढड्डा सिस्टममा तथ्यांक राख्ने गरिएको छ ।

महानगरका अधिकांश तथ्यांक ०६८ को जनगणनामा आधारित छन् । त्यसबाहेक धेरै रफ डाटा रहेको निष्कर्षसहित जिआइएस सिस्टममा जान लागेको महानगरको सूचना प्रविधि विभागले जनाएको छ । 

‘अहिले केही ठाउँमा कम्युटर सिस्टम र केही ठाउँमा ढड्डामै तथ्यांक राख्ने गरिएको छ,’ विभागका प्रमुख राज्यप्रकाश प्रधानांगले भने, ‘जसका कारण तथ्यांक यकिन नहुन सक्थ्यो । अब हामी जिआइएसमा जाँदै छौँ ।’ 

यसअघि नै जिआइएसमा जाने निर्णय महानगरको बोर्डले गरिसकेको छ । करिब १० करोडबराबरको बोलपत्र आह्वान गर्ने तयारी भएको महानगर स्रोतले जनाएको छ । 

के हो जिआइएस सिस्टम ?

जिआइएस सिस्टम एक कम्युटरमा आधारित उपकरण हो । जसलाई सबै प्रकारका भौगोलिक डाटालाई क्याप्चर गर्न, स्टोर गर्न, परिवर्तन गर्न, विश्लेषण गर्न डिजाइन गरिएको हो । 

यो विशेषतः भूगोल विशेष डाटा सिस्टम हो । यसलाई सामान्य रूपमा स्थान (ठाँउ)का विशेषता र अतिरिक्त जानकारीका रूपमा समेत परिभाषित गर्न सकिन्छ । यो अक्षांश र देशान्तरमा आधारित हुन्छ । 

उदाहरणका रूपमा विद्यालयलाई लिन सकिन्छ । विद्यालय स्थानीय डाटा हो भने अतिरिक्त डाटामा विद्यालयको नाम, शिक्षाको स्तर, संख्या आदि पर्छन् ।

कसरी संकलन हुन्छ तथ्यांक ?

टेन्डर प्रक्रियामार्फत कम्पनी छनोट गरेर प्रारम्भिक डाटा संकलन र जिआइएस म्याप बनाउने जिम्मा दिइनेछ । उक्त कम्पनीले संकलित तथ्यांकलाई म्यापमा समावेश गर्नेछ । 

यो प्रक्रियाको निरीक्षण गर्न दक्ष जनशक्तिको उपयोग गरी सुपरिवेक्षण टोलीसमेत बनाइनेछ । सँगै जिआइएस सिस्टमका लागि छुट्टै डेस्कसमेत बनाउने तयारी छ । 

सीधै स्टाटेलाइटबाट म्याप अपेडेट गर्न खर्चिलो हुने र पहुँचभन्दा बाहिर रहेकाले डाटा अपडेटका लागि महानगरले छुट्टै मेकानिजम तय गर्ने भएको छ । 

‘सेवाग्राहीलाई सेवा लिन आउँदा अनिवार्य रूपमा तथ्यांक नवीकरण गर्नुपर्ने व्यवस्था मिलाउने र तथ्यांक नवीकरण नगरी सेवा लिन नपाउने नीति तय गर्ने विषयमा सोचिरहेका छौँ,’ प्रधानांगले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्