भरतपुर महानगरले ‘स्मार्ट सिटी’को काम थाल्यो



चितवन : भरतपुर महानगरपालिकाले ‘स्मार्ट सिटी’को काम थालेको छ । महानगरले घरधुरी सर्वेक्षणका लागि गणक खटाएको छ । भरतपुर महानगरका २९ वडामा घरधुरी सर्वेक्षणका लागि एक सय पाँचजना गणक खटिएका छन् । 

वडाको जनसंख्याका आधारमा गणकहरू खटिनेछन् । महानगरले १८ फागुनसम्म घरधुरी सर्वेक्षण सक्ने लक्ष्य लिएको छ ।  घरधुरी सर्वेक्षण गर्दा गणकहरूले एक सयवटा प्रश्नको जवाफ लिनेछन्, जहाँ पेसादेखि जमिनसम्म, सरसफाइदेखि कमाइसम्मका सम्पूर्ण पारिवारिक विवरण लिइनेछ । 

सोही सर्वेक्षणका आधारमा तयार पारिएको प्रतिवेदनअनुसार सहरी विकास मन्त्रालयले स्मार्ट सिटीको अवधारणा अघि बढाउनेछ । २० वटा सहरलाई स्मार्ट सिटी बनाउने मन्त्रालयको योजनामा भरतपुर महानगर पनि परेको हो ।

छिटै स्मार्ट सिटीः मेयर दाहाल

भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने काम सुरु भएको जानकारी दिँदै मेयर रेणु दाहालले छिट्टै नै स्मार्ट सिटीको अवधारणालाई सार्थक बनाउने बताइन् । 

‘गणकहरूले घरघुरी सर्वेक्षण गर्नेछन् । सर्वेक्षणपछि आएको प्रतिवेदनका आधारमा स्मार्ट सिटीका योजना अघि बढ्नेछन्,’ दाहालले भनिन्, ‘सहरी विकास मन्त्रालयले भरतपुरलाई स्मार्ट सिटी बनाउन चालेको कदमलाई हामी साकार पार्नेछौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्