बम्जनको आश्रमबाट हराएका अनुयायीको हत्या आशंका, नुनको प्रयोग गरेर शव गलाइएको हुनसक्ने



काठमाडौं : प्रहरीले रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाडेगाउँस्थित आश्रम क्षेत्र उत्खनन् गर्दा नुनको प्याकेटका ९ वटा खोल फेला पारेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आश्रमबाट करिब तीन सय मिटर पर ती खोल बरामद गरेको हो । खोल पाइएका स्थानमा कोइलाको अवशेष पनि भेटिएको छ ।

तपस्वी भनिएका बम्जनको आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा नुनको खोल भेटिएपछि हत्याको आशंका गरिएको हो ।

‘आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो । त्यसमा हड्डी पाएको छैन’ अनुसन्धानमा खटिएका प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले भने, ‘शव अन्यत्रै लगेर जलाइएको हुनसक्छ ।’

सञ्चलालका छोरा महेन्द्रले बाबु खोजीपाऊँ भनी बिहीबार जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । लगत्तै प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको थियो । त्यसपछि शुक्रबार नै प्रहरी टोलीले इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको टोड्के वनस्थित बम्जनको ८० रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा छापा मारेको थियो ।

सञ्चलालका छोराले आफ्नो बुवालाई कुटेर मारेको आरोप लगाएका छन् । वाइबाको खोजीका लागि साता दिन अघिदेखि विशेष अनुसन्धान टोली खटाएको प्रहरीले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्