‘गेम अफ थ्रोन्स’की नेपाली मूलकी अभिनेत्री नेपाल भ्रमणमा



काठमाडौं : नेपाली मूलकी अभिनेत्री अमृता आचार्य नेपाल भ्रमणमा छिन् । एचबिओ च्यानलको चर्चित सिरिज ‘गेम अफ थ्रोन्स’की अभिनेत्री १६ वर्षपछि नेपाल आएकी हुन् । 

नेपाल र भारतबाट विभिन्न जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकाको पुनःस्थापनाका लागि स्थापित ‘छोराछोरी’ नामक संस्थाको पहलमा उनी नेपाल भ्रमणमा आएकी थिइन् ।

नेपाल भ्रमणमा व्यस्त अभिनेत्री आचार्य शुक्रबार गोदावरीको तौखेलस्थित सो संस्थाको पुनःस्थापना केन्द्र पुगेकी थिइन् । नेपाल र भारतमा बेचिएका केटाकेटीलाई उद्धार गरेर पुनःस्थापना गर्न स्थापित ‘छोराछोरी’को पहलमाउनी नेपाल आएकी हुन् । 

‘छोराछोरी’मा आबद्ध उनले सो पुनःस्थापना केन्द्रमा रहेका बालबालिकासँग प्रत्यक्ष भेटेर कुराकानीसमेत गरेकी थिइन् ।

नेपाल आउनुअघि बेलायतमा ‘छोराछोरी’ संस्थाले आयोजना गरेको आर्थिक सहयोग संकलनका लागि आयोजित डिनर र विभिन्न कार्यक्रममा सहभागि भएकी थिइन् । ‘नेपालीमा अहिले तपाईँहरूको प्रश्नको उत्तर दिन सक्दिनँ । अर्कोपटक नेपाली भाषा सिक्न नेपाल आइनेछ । त्यतिखेर सबै नेपालीमा उत्तर दिनेछु,’ अन्तर्वार्ताको सुरुमै उनले भनिन् । 

आफू रसियन र युक्रेनियन भाषामा मात्र स्पष्ट बोल्ने गरेको उनले बताइन् । एक साताअघि नेपाल आएकी उनले नेपाल भ्रमण उत्कृष्ट भएको प्रतिक्रिया दिइन् ।

आफ्नी दिदी माया आचार्यसहित नेपाल आएलगत्तै घुमघाममा निस्किएकी उनले नेपालमा बनेका कपडा र सामान सम्झना स्वरूप लाँदैछिन् । 

प्रतिक्रिया दिनुहोस्