पर्यटन बोर्डका तत्कालीन सिईओ जोशी र निमित्त सिईओ थापा अख्तियार धाउदै



काठमाडौं : नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्डबाट गत ९ गतेदेखि अवकाश पाएका बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत दीपक जोशी र मार्के्टिङ चिफ नन्दिनी लाहे थापा बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनीहरु तनावमा परेका छन् । पर्यटन बोर्डमा उनीहरुले गरेका अनियमितताको विषयमा आयोगले छानबिन अगाडी बढाएपछि तनावमा परेका जोशी र थापाले आयोग पुगेर बयान पनि दिसेकेको श्रोतको दाबी छ ।

बोर्डमा पुनः प्रमुख कार्यकारी अधिकृत बनेर आउन विभिन्न शक्तिकेन्द्रहरुलाई दबाब दिरहेका जोशीले अख्तियारमा बयान दिएको चर्चा पर्यटन मन्त्रालय सिंहदबार परिसरमा व्यापक बनेको छ । बोर्डमा अब फेरी सिईओ बनेर आफै आउन ठोकुवा गर्दै हिडेका जोशीले बोर्डबाट अवकाश लिए पनि बोर्डका काममा हस्तक्षेप गर्दै आएको गुनासो कर्मचारीहरुले गर्ने गरेका छन् । जोशीसँगै नन्दिनी पनि प्रमुख कार्यकारी अधिकृत हुने प्रतिस्पर्धामा छन् । जोशीले अवकाश लिएपछि हाल नन्दिनी बोर्डको निमित्त सीईओ छन् ।

बोर्ड भने नेतृत्वबिहिन अवस्थामा रहेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) जोशीले यही पुस ९ मा चार वर्षे पदावधि पूरा गरी अवकाश पाएपछि रिक्त हुन पुगेको हो । हाल रिक्त रहेको सीईओका लागि आवेदन मागिएकोमा जोशी सहित बोर्डकै कर्मचारीभित्रबाट १० र बाहिरबाट ७ जनाले आवेदन दिएका छन् । बोर्डका दुई जना वरिष्ठ निर्देशक, पाँच प्रबन्धक, दुई वरिष्ठ अधिकृतले पनि सीईओका लागि आवेदन दिएका छन् । सरकारले गठन गरेको छनौट उपसमितिमा निवर्तमान सीईओ जोशीसहित १७ जनाले आवेदन दिएका छन् । पर्यटन सचिव केदारबहादुर अधिकारी अध्यक्ष रहेको बोर्डको सञ्चालक समितिले सीईओ छनोट गर्न बोर्ड सदस्य विप्लव पौडेलको संयोजकत्वमा गत मंसिर १८ गते तीन सदस्यीय उपसमिति गठन गरेको थियो । जसअनुसार उनीहरुले आवेदन दिएका हुन ।

आवेदन दिनेमा बोर्डका निर्वतमान सीईओ जोशी, बोर्डका कर्मचारीहरु काशीराज भण्डारी, सन्तोषविक्रम थापा, कुन्दन मिश्र, नविन पोखरेल, सूर्य थपलिया, हिक्मत सिंह ऐर, उदय भट्टराई, लेखनाथ भुसाल र रोहिनी खनाल छन्। भम्रण वर्ष सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठसहित निजी क्षेत्रबाट विजय नेपाल, धनन्जय रेग्मी, डा. विष्णुप्रसाद गौतम, प्रशन्न अधिकारी, दीपक बस्ताकोटी र प्रमेश श्रेष्ठले पनि आवदेन दिएका छन् । छनोट उपसमितिले पुस १० सम्मको समय दिएर आवेदन मागेको थियो ।

सिईओ जोशीलाई नेपालमा दमकल ल्याउन भन्दै विदेशी नागरिक माइकल कोबाल्टसँग गरेको कारोबारअनुसार दमकल नआर्एपछि अख्तियारले उनलाई यस विषयमा तान्ने भएको हो । श्रोतका अनु्सार नेपालमा दमकल ल्याउने भन्दै दुई बर्ष पहिला माइकललाई २ करोड रुपैयाँ दिने सहमति भएको थियो । त्यो सहमति अनुसार १ करोड रुपैयाँ पहिला नै भुक्तानी भइसकेको छ । तर अहिलेसम्म दमकल नेपालमा आउनु त परै जाओस् कोबाल्ट नै वेपत्ता भएका छन् ।

यसरी यो विषयलाई अहिले अख्तियारले चासोका साथ छानबिन गरिरहेको हो । श्रोतका अनुसार यही विषयलाई लिएर जोशीलगायतका बोर्डका अधिकारीसँग अख्तियारले २ पटक बयान लिइसकेको छ । अख्तियारका अनुसार उनीहरुले हचुवाका भरमा रकम भुक्तानी दिएको आरोप छ । अहिले कोबाल्ट बोर्डको सम्पर्कमा समेत आएका छैनन् ।

कोबाल्टलाई पर्यटन बोर्डको सम्पर्कमा ल्याउने र एक करोड रकम दिलाउन महत्वपूर्ण भूमिका खेल्ने सीईओ जोशीका विश्वासपात्र श्रद्धा श्रेष्ठ हरेकी छन् । बोर्डकी म्यानेजर श्रेष्ठ यसअघि सुवास निरौलाको विश्वासपात्र भएर काम गरेकी पात्र हुन् । श्रेष्ठलाई बोर्डमा प्रवेश गराउने पनि निरौला नै हुन् । जोशीको कार्यकालमा पनि श्रेष्ठको रजगज चल्दैआएको छ ।

त्यसैगरी २०१७ मा दुवईमा पर्यटन फेयर गर्नका लागि बोर्डले हलाल समिट नामक ब्यक्तिलाई १८ हजार अमेरिकी डलर भुक्तानी दिएको थियो । तर दुबईमा त्यो कार्यक्रम त हुन सकेन नै, हलाल पनि अहिलेसम्म बोर्डको सम्पर्कमा आएका छैनन् । बोर्डका मार्के्टिङका अधिकृत सन्तोष घिमिरेलाई हलाल खोज्न दुवई पठाए पनि अत्तोपत्तो नै नलागेपछि उनी त्यसै फर्किएका थिए । १८ लाख रुपैयाँ त हलालले खाइदिए नै उनलाई खोज्नका लागि बोर्डको अर्को २ लाख भन्दा बढी खर्च भएको कुरा पनि गुपचुप राखिएको छ ।

यसरी पर्यटन प्रबद्र्धनका नाममा विदेशमा कार्यक्रम गर्ने काम मार्के्टिङ विभागले गर्ने गर्छ । मार्के्टिङ विभाग प्रमुख नन्दिनी लाहे थापा हुन् भने म्यानेजर रोहिणी खनाल । उनले जर्मनीमा पटक पटक कार्यक्रम राख्ने र त्यसको जिम्मा मनाङ घर भएका एनआरएन दिल गुरुङलाई दिने गरेकी छन् । बोर्डबाट गुरुङले नेपाली खानाको प्रबद्र्धन गर्ने भनेर समोसा र सेलरोटी एकाध जर्मनहरुलाई बोलाई खुवाएर २० औं लाखको बिल पेश गरी भुक्तानी लिंदैआएका छन् ।

नन्दिनीले गुरुङलाई टीका लगाएर भाइको नाता जोडेको चर्चा पर्यटन बोर्डमा छ । भिजिट नेपाल २०२० को सचिवालयको सदस्य सचिव समेत रहेकी थापा लामो समय अनुपस्थित रहेपछि अहिले उनलाई हटाएर सचिवालयको सदस्य सचिवमा पर्यटन विद बच्चुकुमार श्रेष्ठ आएका छन् । यी गुरुङ तिनै हुन् जसले बोर्डको कार्यक्रमका नाममा व्यापक अनियमितता गर्दै आएका छन् । उनले कार्यक्रममा खर्च भएभन्दा बढी भुक्तानी लिई सबैलाई बाँड्दै आएका छन् । पर्यटन प्रबद्र्धन गर्ने भनेर यसरी बोर्डको रकम ब्रम्हलुट भएकाले डेढ महिनाअघि बोर्डका अधिकारी आदित्य बरालले राजीनामा दिएका छन् । उनीसँगै राजिनामा दिन तयारी गरेकी नन्दिनीलाई मार्के्टिङका रोहिणी खनालहरुले उनलाई राजीनामा दिनबाट रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्