नेपाल-फ्रान्स सम्बन्ध : हेराइ अझै दिल्लीकै आँखाबाट



काठमाडौं : नेपाल–फ्रान्सबीच लामो समयपछि काठमाडौंमा दुईपक्षीय सम्बन्धबारे राजनीतिक तहमा छलफल हुने भएको छ । सन् २००६ पछि फ्रान्सबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।

७ दशक लामो कूटनीतिक यात्रामा नेपाल–फ्रान्सबीच दुईपक्षीय औपचारिक राजनीतिक संयन्त्रसमेत बनेको छैन । यस्तो स्थितिमा त्यस्तो संयन्त्रको खाका तयार पार्न भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । नेपालले कूटनीतिक सम्बन्ध राखेको चौथो देश हो फ्रान्स ।

उत्तरी छिमेकी चीनभन्दा पहिले नेपालको सम्बन्ध फ्रान्ससँग स्थापना भएको हो । सन् १९४९ अप्रिल २० मा फ्रान्ससँग सम्बन्ध कायम भए पनि अहिलेसम्म दुईपक्षीय राजनीतिक र सहयोग प्रक्रिया अघि बढाउने अन्य औपचारिक कूटनीतिक संयन्त्र छैन ।

पछिल्लो समय फ्रान्सले यहाँ रहेको आफ्नो सम्पत्ति (विशालनगरस्थित राजदूत निवास) बिक्री गरेर भिसा कार्यालयसमेत नयाँ दिल्ली सारेको छ । दक्षिण एसियामा पुरानो सम्बन्ध रहेको देश नेपालसँग फ्रान्सले मितव्ययिताको नाममा दूतावासको आकार घटाएको छ ।

यसैगरी भिसाका लागि दिल्ली पुग्नुपर्ने वा ‘भीएसएफ ग्लोबल’ मार्फत् आवेदन दिनुपर्ने बनाएको छ । दूतावासमा कर्मचारी कटौती मात्र गरेको छैन, दुईपक्षीय सहयोगसमेत शून्यमा झारेको छ । पछिल्लो एक दशकयता उसले सहयोग शून्य बनाएको हो ।

युरोपेली संघ (ईयू) मार्फत् दिने भने फ्रान्सले सहयोग जारी राखेको छ । फ्रान्सेली भाषा र सांस्कृतिक केन्द्र पनि राखेको छ । तर बाँकी सबै दिल्ली लैजानुलाई नेपालप्रति फ्रान्सको दृष्टिकोण पनि भारतकै आँखाबाट हुने तथ्य पुष्टि भएकाले यसमा ध्यान दिनसमेत नेपालले आग्रह गर्ने भएको छ ।

द्विपक्षीय संयन्त्र निर्माण भइरहेको पहलअनुरूप फ्रान्सको विदेश मन्त्रालयका महासचिव मौरिस गुर्दो मोन्तान नेतृत्वको टोली नेपाल आउन लागेको हो । कूटनीतिक मामिलामा उनी विदेशमन्त्री पछिका शक्तिशाली मानिन्छन् ।

उनले उच्चस्तरीय राजनीतिक छलफल पनि गर्नेछन् । परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्र बनाउन फ्रान्स तयार भए पनि यो भ्रमणपछि यसबारे निर्णय लिने तयारी सरकारले गरेको छ ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्