हिमाल आरोहीका गाइडलाई ३३ लाख पारिश्रमिक



काठमाडौं : हिमालमा काम गर्ने पर्वतारोहण पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेका छन् । यो हालको विनिमय दरअनुसार करिब ३३ लाख रुपैयाँ हो । आरोहीलाई शिखर पुर्‍याएर आधारशिविर फर्काएबापत् उनीहरूले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।

हिमालमा वर्षमा दुई पटक आरोहण हुने समयमा बढीमा दुई महिना काम गरेबापत् पर्वतारोही पथप्रदर्शकले यो पारि श्रमिक लिने गरेका छन् । पछिल्लो समय पर्वतारोहण गाइडको माग बढ्दो भएकाले पारि श्रमिक पनि बढ्दै गएको हो ।

नाम्चे-७, थामे सोलुखुम्बुका पथप्रदर्शक कामीरिता शेर्पालाई सेभेन समिट ट्रेक एन्ड एक्स्पिडिसन कम्पनीले ३० हजार अमेरिकी डलर दिने करार गरेको छ । २०७५ र २०७६ मा गाइड गर्ने गरी वार्षिक ३० हजार डलर दिने सम्झौता गरेको कम्पनी प्रमुख मिङमा शेर्पाले जानकारी दिए ।

पछिल्लो समय हिमाल आरोहण गर्नेको संख्या बढेको छ । तर दक्ष आरोहण पथप्रदर्शक विदेसिने गरेकाले गाइडको माग बढ्दो छ ।

यसरी हिमालमा आरोहीलाई गाइड गरेबापत् वार्षिक ३० हजार अमेरिकी डलर लिनुले भविष्व उज्वल रहेको सन्देश दिएको पथप्रदर्शक नरेन ठकुरीले बताए । २०५० सालयता निरन्तर हिमाल आरोहणमा गाइड गर्दै आएका कामीरिता शेर्पाले गत वर्ष २२ औं पल्ट सगरमाथाको आरोहण गरी सर्वाधिक आरोहण गर्ने व्यक्तिको विश्व कीर्तिमान बनाएका छन् ।

अधिकांश कीर्तिमानी आरोही विदेस पलायन हुने गरेका छन् तर कामीरितालाई स्वदेशमै काम गर्ने वातावरण बनाउन मागअनुसार पारि श्रमिक दिएको कम्पनी प्रमुख शेर्पाले बताए । दक्ष आरोहीको विदेशमा सम्मान नहुने भएकाले देशमै सम्मान दिनु र पथप्रदर्शकको महत्व बढाएको कम्पनीको भनाइ छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्