खडेरीको मार : डाँडाकाँडा नाङ्गै, बस्तीमा खानेपानी अभाव



सुर्खेत : मुगुका पहाडमा यसपालि हिउँ परेको छैन । खत्याड गाउँपालिकाको बिना, डुमाना, डामलेख, ह्यांगलु, रिघालगायत बस्तीमा खानेपानी अभाव छ । पाखो बारीमा लगाएको जौ–गहुँ नउम्रिँदा किसान चिन्तित छन् ।

पानी नपर्दा मुगुका पहाडमा यसपालि हिउँ परेको छैन । हिउँले सेताम्मे हुनुपर्ने पुस महिनामा खेतबारी उराठलाग्दो देखिएको थार्प गाउँका पुरीलाल सावतले बताए ।

‘अहिलेसम्म हिउँ छैन, डाँडाकाँडा नाङ्गै छन्,’ उनले भने, ‘खेतबारीमा उम्रिएको जौ र गहुँ पनि सुक्न थालेको छ, अधिकांश किसानलाई अर्को वर्ष खाद्यान्न अभाव हुने चिन्ता छ ।’

उनका अनुसार खत्याड गाउँपालिकाको बिना, डुमाना, डामलेख, ह्यांगलु, रिघालगायत बस्तीमा खानेपानी अभाव भएको छ । खडेरीले वनपाखाको घाँस सुकेपछि चौपाया पाल्नसमेत मुस्किल हुने अवस्था आएको स्थानीयको गुनासो छ ।

पाखो बारीमा लगाएको जौं र गहुँ अझै नउम्रिँदा किसान चिन्तित छन् । जिल्लाका अधिकांश गाउँमा सिँचाइ सुबिधा नहुँदा आकासेपानीको भरमा हिउँदेबाली लगाउने गरिएको छ । पाखो जग्गामा मंसिरमा छरेको बाली नम्रिदा खेतीमा निर्भर किसान चिन्तित बनेका हुन् ।

होला–ताल्चा गाउँका हरि रोकायाल खडेरीले स्याउ किसान पनि चिन्तित बनेको बताए । हिउँ र पानी नपरेसम्म गतिलो स्याउ नफल्ने उनको भनाइ छ । ‘पानी नपरेपछि स्याउका बोट सुक्छन् कि भन्ने चिन्ताले सताउन थालेको छ,’ उनले भने, ‘यसपालि पनि हिउँ पर्ने संकेत छैन, बालबच्चा पाल्न समस्या हुने भयो ।’

 

सुक्न थाले गहुँ

कालीकोट, खाडाचक्र–१, चौरका भीमबहादुर खड्काले असोजमा १२ पाथी बीउ जाने पाखो बारीमा गहुँ छरे । भर्खर पानी परेकाले गहुँ राम्रोसँग उम्रियो । त्यसयता पानी परेको छैन । गहुँ सुक्न थालेको छ ।

‘बीउ पनि नजोगिने भयो,’ खड्काले गुनासो पोखे, ‘गत वर्ष पानी परे पनि चैतको असिनाले बाली भित्र्याउन पाइएन, यस वर्ष पनि हिउँदे बाली नजोगिने भयो ।’ त्यस्तै सान्नीत्रिवेणी-२, सेरिज्यूलाका कृषक अनिपाल गिरीले ३२ पाथी बीउ जाने पाखोमा गहुँ छरे पनि खडेरीले सुकेर काम नलाग्ने भइसकेको छ । आजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्