भिभिआइपीलाई चार महँगा हेलिकोप्टर



काठमाडौं : नेपाली सेनाले भिभिआइपी (विशिष्ट) का लागि चारवटा महँगा हेलिकोप्टर खरिद गर्ने भएको छ। सेनाले अघि बढाएको दीर्घकालीन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ ।

तीमध्ये एउटा अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको छ । डेढ अर्बभन्दा बढी मूल्यको उक्त हेलिकोप्टर कम्पनीले सेनालाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ । बाँकी तीनमा एउटा अगस्टा र दुइटा बेल रहेको सेनाले जनाएको छ ।

विशिष्ट सेवाका लागि प्रयोग हुने चारवटै हेलिकोप्टर एयर बेसअन्तर्गत विशिष्ट उडान सेवाका लागि काठमाडौंमा रहने सेनाले जनाएको छ । ती हेलिकोप्टर विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विशिष्टहरूका लागि एवं नेपालका राष्ट्रपति, प्रधानमन्त्री र विशिष्टहरूको उडानमा प्रयोग हुनेछन् ।

सेनाले हेलिकोप्टर प्राकृतिक विपत्तिका बेला पनि प्रयोग गर्न सकिने जनाएको छ । ‘यी हेलिकोप्टर विशिष्टको उडानका लागि हुन् तर विपद्का बेला पनि प्रयोग गर्न सकिन्छ,’ सैनिक स्रोतले भन्यो ।

सेनाले दीर्घकालीन हवाई योजनाअन्तर्गत अहिले रहेका एयर क्राफ्टको संख्या दोब्बर बढाउने तयारी गरेको छ । हाल सेनासँग दुइटा फिक्स विङ र १२ हेलिकोप्टरसहित १४ वटा एयर क्राफ्ट छन् । सेनाले एयरक्राफ्टको संख्या ३१ पुर्याउने लक्ष्य राखेको छ । आजकाे नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्