विदेशी जेलमा पाँच सय ३२ नेपाली



काठमाडौं : भीमदत्तनगरपालिका–७, कञ्चनपुरकी जानकी नाथसँग अहिले एउटै उद्देश्य छ– कतारको जेलमा रहेका पति पदमलाई जसरी हुन्छ मुक्त गरी सकुशल घर फर्काउने ।

सोही उद्देश्य पूरा गर्न जानकी कहिले जिल्ला तहका जान्नेसुन्ने व्यक्तिसमक्ष धाउँछिन् त कहिले हारगुहार माग्न काठमाडौंसम्म पुग्छिन् । 

जानकी यस्तो दिनचर्यामा पुगेको वर्षौं भइसक्यो । आजको दिनसम्म उनले भेट्ने जतिबाट सहयोग गर्ने आश्वासन बोहक अरु केही पाएकी छैनन् । 

‘भेटे जतिका सबैले सहयोग गरौंला भन्छन्,’ कतारी जेलमा रहेका पतिलाई उद्दार गर्न सकिएला कि भन्ने आसले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पुगेको बेला भेटिएकी जानकीले भनिन्, ‘सहयोग दिन सक्ने निकाय सबैमा पुगिसक्यौं । तर कसैले पनि पतिलाई घर फर्काउने गरी सहयोग गर्न सकेका छैनन् ।’

सात वर्षअघि कर्तव्य ज्यान मुद्दामा दोषी देखिएपछि पदम कतारको जेल परेका हुन् । पदम जेल पर्दा कमाउन त सकेका छैन नै साथै पत्नीले घरको सम्पत्तिसमेत बिक्री गर्न नपाएपछि घरखर्च टार्न निकै गाह्रो परिरहेको छ । 

‘उहाँको (पदम) नाममा रहेको जग्गालाई नामसारी गरेर बिक्री गर्न पाएको भए पनि राम्रोसँग खानै नपाउने अवस्था त आउँदैन्थ्यो होला ?,’ उनी अनुमान लगाउँछिन् । खर्चको अभावमा छोरीलाई पढाउन गाह्रो भएको उल्लेख गर्दै उनले चरम आर्थिक संकट टार्न यतिखेरको उपाय भएको सम्पत्ति बिक्री गर्नु मात्र रहेको बताइन् ।

वैदेशिक रोजगारीमा गएर आर्थिक उन्नति गर्ने आशा पालेका युवा विदेशी जेलमा रहनु पर्दा घरपरिवार र बालबालिकाको अवस्था कञ्चनपुरकी जानकीको जस्तै छ । सरकारमा रहेकाहरूले रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानेको भाषण गरिरहँदा विदेशी जेलमा परेकाको उद्दार गर्न भने कुनै चासो नराखेको पीडितको गुनासो पाइन्छ । 

रोजगारीका लागि विदेश गएकामध्ये हाल सबभन्दा बढी मलेसियाको जेलमा छन् । बोर्डका अनुसार मलेसियामा दुई सय चार, संयुक्त अरब इमिरेट्समा एक सय ८५, कुवेतमा ५८, कतारमा ३८,  साउदी अरेबियामा २४ र ओमानमा दुई नेपाली जेलमा छन् । 

यसमा महिलाको संख्या १९ रहेको बोर्डले जनाएको छ । विभिन्न मुलुकका जेलमा रहेका २५ जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्