सांसदको तलब शिक्षकलाई



काठमाडौं : प्रतिनिधिसभा तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले भानु नगरपालिका–७ स्थित चण्डिकालाल प्राथामिक विद्यालयको एक शिक्षकलाई एक वर्षको तलब बराबरको रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सांसद श्रेष्ठले विद्यालयको ५१औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्राथामिक तहका एक शिक्षकलाई एक वर्षको तलब दिने घोषणा गरेका हुन् ।

शिक्षक दरबन्दी कम भएको र विद्यालयको आन्तरिक स्रोतले छुट्टै शिक्षक राख्नसक्ने अवस्था नभएका कारण सांसद श्रेष्ठले एकजना करारको शिक्षकलाई सरकारी तलब स्केल बराबरको रकम आफ्नो व्यक्तिगत तबरबाट उपलब्ध गराउने घोषणा गरेका हुन् ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित नहुन भन्ने उद्देश्यले शिक्षकको व्यवस्थाका लागि रकम उपलब्ध गराउन लागेको बताए ।

सांसद श्रेष्ठले हालसम्म सांसदका रुपमा आफूलाई राज्यले दिने मासिक तलब भत्ता सबै जिल्लाका विभिन्न सङ्घ संस्थालाई उपलब्ध गराउँदै आएका छन् । –रासस

प्रतिक्रिया दिनुहोस्