सेनकालीन ऐतिहासिक सम्पदा ओझेलमा



कावासोती : सेनकालीन इतिहाससँग जोडिएको नवलपरासीको नवलपुरमा रहेका विभिन्न क्षेत्र उचित संरक्षण, संवद्र्धन तथा प्रर्वद्धन हुन नसक्दा आझेलमा परेका छन् । 

 

सेनकालीन समयमा निर्माण भएको कैलाश सन्न्यास आश्रम, मुकुन्दपुर दरबार, रुद्रपुर गढीलगायतका क्षेत्रको संरक्षण तथा प्रर्वद्धन हुन सकेको छैन । किंवदन्तीअनुसार कैलाश सन्न्यास आश्रममा पाल्पाका राजा मणिमुकुन्द सेनले मन्दिर निर्माण गरेका हुन् ।

 

पन्ध्रौँ शताब्दीको अन्त्य तथा १६औँ शताब्दीको सुरुतिर पाल्पाका राजा मणिमुकुन्द यस क्षेत्रमा आई बसेको किंवदन्ती छ । सोही क्रममा राजा मुकुन्दसेनले मुकुन्दपुर डाँडामा दरबार निर्माण गरी सुरक्षाका लागि गैँडाकोटदेखि माथि डाँडामा सैनिक टुकुडी र मौलाकालिका देवीको स्थापना र शिख्रौलीमा शिवमन्दिर स्थापना गरेको भन्ने किंवदन्ती पाइन्छ । 

 

सयौँ वर्ष पहिलाको इतिहास जोडिएको कैलाश सन्न्यास आश्रमको संवद्र्धनमा भने राज्यस्तरबाट खासै चासो नदिएको कैलाश आश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले बताए । 

 

पुरातत्व विभागले २०७० सालमा मन्दिर परिसरमा उत्खनन् गरेको थियो । विभागले उत्खनन् गर्दा विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग, ढुङ्गा छेडेर राखिएका फलामका छड, देवीदेवताको मूर्ति र विभिन्न आकारप्रकारमा कँुदिएका कलात्मक ढुङ्गा फेला परेका थिए । ढुङ्गा शङ्ख, चक्र, विभिन्न देवीदेवताको आकारप्रकारमा कुँदिएका छन् । 

 

पुरातत्व विभागका अनुसार यहाँ भेटिएका कलात्मक ढुङ्गा सेनकालीन हुन् । विभागले एक हजार ५ सय १८ वटा ढुङ्गा उत्खनन गरेर राखेको छ । शिवलिङ्ग र केही देवीदेवताका मूर्ति कँुदिएका ढुङ्गालाई टिनको टहरामा सुरक्षित गरी राखिएको छ । तर अन्य ढुङ्गा भने बाहिरै जमिनमा फैलाएर राख्दा लेउ लागेको छ । यी ढुङ्गाको सुरक्षा नगरे यसको मौलिक कलात्मकता नाश हुने हो कि भन्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् । 

 

समितिका अध्यक्ष घिमिरेले सरकारले पटकपटकको पहलपछि यहाँ उत्खनन गरे पनि प्राप्त सामग्रीको उचित सुरक्षा गर्न नसकेको बताउँछन् । पुरातत्व विभागले शिव मन्दिर निर्माण गरिने जनाएको छ । प्रयोग गर्न मिल्ने ढुङ्गा मन्दिर निर्माणका लागि प्रयोग गरिनेछ ।

 

विभागले सात करोड ६८ लाख ५४ हजार १ सय ११ रुपैयाँ विनियोजन गरेर मन्दिर निर्माणका लागि बोलपत्र आह्वान गरेको भए पनि सो रकममा सम्झौता हुन नसकेपछि पुनः मूल्याङ्कन गरी फेरि बोलपत्र आह्वान गर्ने आश्वासन आफूहरूले पाएको अध्यक्ष घिमिरेले बताए । एक महीनाअघि मन्दिर पुनःनिर्माणको पहल गरिदिन आग्रह गर्न जाँदा विभागले चाँडै प्रक्रियामा जाने बताएको घिमिरेले जनाए । 

 

नवलपुरमा नै रहेको सेनकालीन रुद्रपुर गढीको उत्खननसमेत हुनसकेको छैन । हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको गढीमा दरबारको भग्नावशेष, दरबारको सुरक्षाका लागि वरिपरिबाट खनिएको खाल्डो र सैनिकले परेड खेल्ने टुँडिखेलसमेत रहको धौवादीका समाजसेवी अगुवा झविलाल रानामगरले बताए । तर यसको उत्खनन र संरक्षणमा राज्यस्तरबाट कुनै कार्य हुन नसकेको उनको गुनासो छ ।

रासस

प्रतिक्रिया दिनुहोस्