थारू संस्कृति जोगाउन चितवनमा खिचरा महोत्सव



भरतपुर : थारू संस्कृति जगेर्ना गर्न चितवनमा खिचरा महोत्सव आयोजना गरिने भएको छ । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा महोत्सव हुने भएको हो । महोत्सवको तयारी तीव्र पारिएको आयोजक थारू कल्याणकारिणी सभा क्षेत्र नं. ७ खैरहनीले जनाएको छ ।

 

यस वर्षको महोत्सवलाई विशेष बनाउन थारू संस्कृतिसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिइएको महोत्सव मूल आयोजक समितिका संयोजक चूडामणि चौधरीले बताए । उनले थारू जातिमा मात्र सीमित रहेको संस्कृतिलाई आम मानिसमा पुर्याउन महोत्सवले महत्वपूर्ण योगदान दिने बताए । 

 

आदिमकालदेखि आदिवासी थारू समुदायको बसोबास रहेको चितवनमा हुनलागेको महोत्सवले विशेष महत्व र अर्थ राख्ने थारू कल्याणकारिणी सभा चितवनका पूर्वअध्यक्ष तथा महोत्सवका आर्थिक समिति संयोजक टेकेन्द्र चौधरीले बताए । उनले माघी पर्वलाई उत्सवका रूपमा मनाउन र थारू समुदायका मानिस जमघट हुने साझा थलोका रूपमा महोत्सव आयोजना गरिएको जानकारी दिए । 

 

महोत्सवमा थारू संस्कृति झल्कने घरहरूका साथै खानाका परिकारहरु, थारू सांस्कृतिक मिनी संग्रहालय, घोंघी र चिचरको मूर्ति, हाँस समाउने प्रतियोगिता, चेपाङ र दराई जातिका परम्परागत खानाका परिकारसँगै विभिन्न प्रतियोगितात्मक खेल आयोजना गरिनेछ । त्यस्तै महोत्सवमा बालउद्यान, कृषि परिसर, अटो परिसरलगायतका स्टलहरू रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्