उमेर नमिले पनि वर्षासँग मन मिलाउँदै सन्तोष पन्त



काठमाडौं : शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘चौका दाउ’ ले काठमाडौंमा प्रचारप्रसारलाई तीव्र बनाएको छ । 

चलचित्र प्रचारका लागि मोफसल टुर सकाएको चौकादाउ युनिटले उपत्यकामा अन्तरक्रिया गर्दैछ । 

निर्माण युनिटले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा पुगेर दर्शक र कलाकारबीच अन्तरक्रिया गराउँदै छ । 

अन्तरक्रियाकै क्रममा कलाकार सन्तोष पन्तले चलचित्रमा आफू छोरीको उमेरकी नायिकाको प्रेमी बनेको बताए । वरिष्ठ कलाकार पन्तले चलचित्रले दुई घण्टासम्म दर्शकलाई मज्जाले हँसाउने प्रतिक्रिया दिए ।

अभिनेत्री वर्षा राउतले आफूले मुख्य नायिकाको भूमिका निर्वाह गरेको यो दोस्रो महत्वपूर्ण चलचित्र भएको र दर्शकको पूर्ण मनोरञ्जन ध्यानमा राखेर चलचित्र तयार पारिएको बताइन् । 

चलचित्रका निर्देशक पुर्णेन्दु झाले चौका दाउमा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सनविक्रम राई, तैयव शाह र पाँचौ चौकाको रुपमा अजश्र ढुँगाना रहेको बताए । 

सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको चलचित्रको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजित बास्कोटा हुन् । चलचित्रलाई काठमाडौंमा केबी फिल्मस र मोफसलमा एफडीले वितरण गर्दैछ । 

फिल्ममा वसन्त श्रेष्ठको नृत्य, दीर्घ गुरुङको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण ब्यबस्थापन रहेको छ । 

प्रतिक्रिया दिनुहोस्