जिल्ला समन्वय समिति धनुषा भूमिकाविहीन 



जनकपुरधाम : धनुषामा जिल्ला समन्वय समिति गठन भएको १३ महिना पुगिसेको छ । तर यस अवधिमा समितिले खासै काम गर्न सकेको छैन । भूमिका स्पष्ट नहुँदा र साधन स्रोत अभावले पनि काम गर्न नसकेको समितिका पदाधिकारी बताउँछन् । 

समितिका प्रमुख रामदेव वनरैत यादवले समितिसँग अर्थ र अधिकार दुवै कुरा नभएको बताए । द नेपाल टपसँगको कुराकानीमा उनले भने, ‘हामीलाई कुनै काम छैन, अहिले हामीलाई थाहा भएअनुरूप अनुगमन, मूल्यांकन र समन्वय गर्ने काम नै प्रमुख हो ।’ प्रदेशको ऐननियम नबनेसम्म समन्वय समितिको कामकर्तव्यबारे स्पष्ट हुन नसक्ने उनले बताए । 

समितिका उपप्रमुख दीपक झाले पनि साधनस्रोतको अभाव रहेको बताए । उनले भने, ‘दायित्व त थुप्रै छ तर साधनस्रोत छैन ।’  भएको साधनस्रोतको समेत उपयोग गर्न नसकेको अवस्था रहेको झाले बताए । उनले भने, ‘जिल्ला समन्वय समितिप्रति प्रतिप्रदेश सरकारको गैरजिम्मेवार रबैयाका कारण हामी मूकदर्शक भएर बस्नुपरेको छ ।’

१३ महिनापहिले गठन भएको जिल्ला समन्वय समितिका पदाधिकारीले तलबभत्ता खानेबाहेक कुनै ठोस काम गर्न सकेका छैनन् । १३ वटा दरबन्दी भएको जिल्ला समन्वय समिति धनुषामा अहिले १८ जना कर्मचारी छन् ।

साधनस्रोतका नाममा भएका चारवटा गाडीमध्ये चालू अवस्थामा दुईवटा छन् । ती दुई गाडीमध्ये एउटा प्रमुखले र अर्काे उपप्रमुखले प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्