विद्युत आयोजनाको आडमा अवैध क्रसर सञ्चालन



म्याग्दी : म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा लामो समयदेखि अवैधरुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । जलविद्युत आयोजनाको आडमा क्रसर सञ्चालन गरेर नदीजन्य पदार्थको चरम दुरुपयोग गरेको खुलासा भएको हो । नारच्याङको पटारस्थित मिस्त्री खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी निकासी गर्ने गरिएको छ । नदीकिनारमा जथाभावी एक्साभेटर प्रयोग गरेर गिटी, बालुवा र ढुङ्गा उत्खनन गर्ने गरिएको हो ।

नारच्याङमा निर्माणनधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको आडमा अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेर नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले बताए ।

 

अवैध रुपमा सञ्चालन भएको क्रसरलाई कानुनी दायरामा ल्याउन गाउँकार्यपालिकामा छलफल भएको अध्यक्ष पुनले जानकारी दिए । ‘जलविद्युतको नाममा भए पनि क्रसरले गाउँपालिकालाई कर तिर्नुपर्छ तर सो क्रसरले अहिलेसम्म कर तिरेको छैन’, उनले भने ।

क्रसरले लापरबाही तरिकाले नदीजन्य पदार्थ उत्खनन गर्दा आसपासका क्षेत्रसमेत जोखिममा परेका छन् । मिस्त्रीखोलाको नाममा अनुमति लिएर केही स्थानीयको समेत लगानीमा सञ्चालित क्रसरले दिनहुँ बेनी–जोमसोम सडकखण्ड, दाना सबस्टेसन, पक्की पुललगायतका योजनामा नदीजन्य सामग्री बिक्री गर्ने गरेको छ । ‘जलविद्युत आयोजनाले सञ्चालन गरेको हो भने बाहिर बिक्री गर्न पाइँदैन’, गाउँपालिका अध्यक्ष पुनले भने ।

मिस्त्री खोला जलविद्युत आयोजनाको मिलेमतोमा क्रसर सञ्चालन भएको स्थानीय बताउँछन् । अवैध रुपमा सञ्चालन भएको क्रसरलाई कानुनी दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ । जलविद्युत आयोजनाको आडमा सीमित व्यक्तिले फाइदा लिने गरेको एक स्थानीयले बताए । क्रसर सञ्चालन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डलाई पनि मिचिएको उनको गुनासो छ । क्रसरले सीमित व्यक्तिलाई फाइदा भए पनि गाउँलेलाई सास्ती भएको उनले बताए । 

एक्साभेटरले नदीजन्य पदार्थ उत्खनन गर्दा अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) समेत चुपचाप छ । क्रसर सञ्चालक र एक्यापबीच मिलेमतो हुनसक्ने

स्थानीयको आशंका छ ।

मिस्त्री खोला आयोजनाको नजिकै अर्को क्रसरसमेत सञ्चालनमा छ । आफूलाई आवश्यक पर्ने निर्माण सामग्री आफ्नै क्रसरबाट उत्पादन गर्ने गरे पनि जलविद्युत आयोजनाले समेत अवैध उत्खननमा सघाइरहेको स्थानीयको गुनासो छ । दैनिकजसो चारपाँच टिपरले साम्रागी बाहिर लैजाने गरेको स्थानीयले बताए ।

एक्साभेटरले नदीजन्य पदार्थ उत्खनन गर्दा अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) समेत चुपचाप छ । क्रसर सञ्चालक र एक्यापबीच मिलेमतो हुनसक्ने स्थानीयको आशंका छ । तर स्थानीय यस विषयमा खुल्न डराएका छन् । नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामीले क्रसर उद्योगका बारेमा आफूलाई कानुनी कुराहरु जानकारी नभएको बताए । ‘जलविद्युत आयोजनाले नै सञ्चालन गरेको भन्ने जानकारी छ, बैध कि अबैध भन्ने थाहा छैन’, उनले भने । 

क्रसर उद्योगका कारण पटार–बास्बोट जोड्ने सडक जोखिममा परेको छ भने क्रसरमा लाखौं घनमिटर नदीजन्य पदार्थ भण्डारण गरिएको छ ।

क्रसर सञ्चालक तेज गुरूङले जलविद्युत आयोजनाको क्रसर भएकाले अवैध भन्न नमिल्ने बताए । बाहिर सामग्री बिक्री गरेको भन्ने कुरामा सत्यता नभएको उनको दाबी छ ।

गुरुङ अन्नपूर्ण संरक्षण परियोजना नारच्याङ व्यवस्थापन समितिका अध्यक्ष हुन् । स्थानीयलाई समेत आम्दानी हुने गरी जलविद्युत आयोजना र स्थानीयको संयुक्त लगानीमा क्रसर स्थापना गरिएको गुरूङको दाबी छ ।

क्रसरका अर्का सञ्चालक ओमबहादुर बुढाथोकी ब्यवस्थापन समितिका सचिव हुन् । आयोजना र एक्यापको आडमा दैनिक नदी उत्खनन गरी खुलेआम विक्री हुँदा समेत स्थानीय जनप्रतिनिधि, प्रहरीलगायतका सरोकारवाला निकाय मौन छन् ।

 

क्रसरमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भई हाल जिससमा रहेका मेखबहादुर गर्बुजाको पनि लगानी छ । यस्तै स्थानीय तमबहादुर चोचाङ्गी, जितेन्द्र चोचाङ्गी, भिमबहादुर शेरपुञ्जा लगायतको लगानी छ । 

लाखौं आम्दानी गर्ने क्रसरले गाउँपालिकालाई कुनै कर भुक्तानी गर्दैन । क्रसरका वारेमा गाउँ कार्यपालिकामा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताए । ‘जनप्रतिनिधिहरुले क्रसर अवैध भएको बताउनुभएको छ’, उनले भने ।

 

क्रसरलाई कानुनी दायरामा ल्याउन छलफल भएको उनले बताए । कानुनी दायरामा नआए क्रसर बन्द गराउन सम्बन्धित निकायमा पहल गरिने उनको भनाइ छ । ‘जलविद्युत आयोजना र एक्यापले अनुमति दिँदैमा क्रसर सञ्चालन गर्न पाइँदैन’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्