ट्रयाक्टरबाट खसेर एकको मृत्यु



विराटनगर : मोरङका अलगअलग स्थानमा भएका दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

 

बुढीगंगा गाउँपालिका ६ स्थित नहरमा सानो हाते ट्रयाक्टरबाट खसेर स्थानीय ४१ वर्षीय वीरबहादुर तब्दारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१त ४१४३ नम्बरको हाते ट्रयाक्टरबाट खसेर उनी घाइते भएका थिए । 

घाइते तब्दारको उपचारका क्रममा शनिबार राति ९ बजे सुनसरीको दुहवी सामुदायिक अस्पतालमा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए । ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

 

त्यस्तै मोरङकै सुन्दरहरैंचा नगरपालिकाको बलियामा रहेको शिव ट्रयाक्टर ग्यारेजमा ट्रक मर्मत गर्ने क्रममा त्यही ट्रकको ट्यांकी पड्किंदा शनिबार साँझ चारजना घाइते भएका छन् ।

 

खोलेर सफा गर्ने क्रममा ग्यास जमेको तेलको ट्यांकी पड्किंदा ग्यारेजका मालिक भारत घर भई सुन्दरहरैंचा ४ मा बस्दै आएका ३५ वर्षीय शिवकुमार शर्मा, ५० वर्षीय पवन महत्तो, सुन्दरहरैंचा ४ का २१ वर्षीय शिवनारायण चौधरी र ३८ वर्षीय ओमबहादुर खड्का घाइते भएका छन् ।  

घाइतेमध्ये गम्भीर अवस्थाका शर्मा र महतोलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्य दुईजनाको स्थानीय गछिया मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्