धमाधम पक्राउ पर्दै फरार प्रतिवादी 



विराटनगर : विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले विशेष अभियान सञ्चालन गरेको छ । 

अभियान सुरु भएसँगै पक्राउ पर्नेको संख्या पनि बढ्दै गएको छ । यसै क्रममा उर्लाबारी प्रहरीले सरकारी छाप किर्ते मुद्दाका फरार प्रतिवादी उर्लाबारी ४ का रिपुराज भट्टराईलाई आइतबार बिहान पक्राउ गरेको छ ।  भट्टराईले ११ महिना १० दिन कैद भुक्तान गर्न र ५० रुपैयाँ जरिवाना तिर्न बाँकी रहेकाले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 

यसैगरी प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका उर्लाबारी ७ का यामबहादुर गिरी, सम्बन्ध विच्छेद मुद्दामा फरार रहेका उर्लाबारी ३ का किरण श्रेष्ठ, नागरिकता किर्ते मुद्दामा फरार रहेका तत्कालीन राजघाट गाविस ७ का  प्रकाशचन्द्र सापकोटा र वन मुद्दामा फरार रहेका तत्कालीन टाँडी गाविस ५ का शम्भु राईलाई पक्राउ गरेको छ । राईले १ महिना १५ दिन कैद भुक्तान गर्न र ८ हजार दुई सय ४९ रुपैयाँ जरिवाना तिर्न बाँकी छ । 

यसैगरी प्रहरीले सार्वजनिक मुद्दाका प्रतिवादी तत्कालीन मधुमल्ला १ का अर्जुन पेहिम लिम्बूलाई समेत पक्राउ गरेको छ । लिम्बूको अहिले ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलिरहेकोले इप्रका उर्लाबारीमै राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिमल्सिनाले बताए । उर्लाबारी प्रहरीले चलाएको विशेष अभियानअन्तर्गत पुस महिनामा मात्रै १८ जना फरार प्रतिवादी पक्राउ गरिसकिएको जानकारी उनले दिए । 

विभिन्न अपराधमा चलाइएका मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भए पनि फरार रहेका र अहिले सजाय भुक्तान गर्न बाँकी रहेकालाई प्रहरीले पक्राउ गरेर बुझाएपछि सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरिएको मोरङ अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए । अदालतले जरिवानाको फैसला गरेकाहरुलाई भने जरिवाना तिराएर छाड्ने गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्