बलात्कारी भगाएकाे भन्दै गाउँपालिका अध्यक्षकाे नेतृत्वमा प्रहरी चाैकी ताेडफाेड



ललितपुर : ललितपुरमा गाउँपालिका प्रमुखकै नेतृत्वमा प्रहरी चौकी तोडफोड भएकाे छ।

 

ललितपुरको महांकाल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहालको नेतृत्वमा इलाका प्रहरी कार्यालय टुंगुन बडिखेलको प्रहरी कार्यालय तोडफोड भएको महानगरीय प्रहरी वृत चापागाउँका डीएसपी राजकुमार खिउजूले जानकारी दिए।

 

गएराति भारतको बिहार घर भएका १७ वर्षीय बब्लु माझीले महांकालकै एक १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको भन्दै स्थानीयले पक्राउ परेर टुंगुन प्रहरी कार्यालय पुर्‍याएका थिए।

 

माझी एक महिनादेखि महांकालमै बसेर ग्रिलको काम गर्दै आएका थिए। प्रहरी कार्यालय पुर्याइएका माझीमाथि प्रहरीले सोधपुछ गर्ने क्रममा उनले आफूलाई लागेको आरोप अस्विकार गरेका थिए।

 

त्यसैबेला महांकाल गाउँपालिका प्रमुख रामचन्द्र दाहालले आरोपित माझीलाई कुटेको डीएसपी खिउजूले बताए।

 

गाउँपालिका प्रमुखले कुट्न थालेपछि झण्डै एकसय जनाको हाराहारीमा प्रहरी कार्यालय पुगेका अन्य गाउँलेले पनि माझीलाई कुट्न थालेको प्रहरीले जनाएको छ।

 

माझीको जिउको नै असुरक्षा हुन थालेपछि प्रहरीले उनलाई चौकीभित्र थुनेको थियो। चौकी पुगेका स्थानीयले भने प्रहरीले बलात्कारीलाई जोगाउन खोज्यो भन्दै नाराबाजी गरेर चौकी नै तोडफोड गरेको डीएसपी खिउजूले जानकारी दिए।

 

तोडफोडबाट प्रहरी कार्यालर्यको प्रतिक्षालयमा क्षति पुगेको छ। प्रहरीको बोर्ड, चौकीका झ्याल ढोका, प्रहरी सुत्ने खाट समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ।

 

झ्याल ढोका नै तोडफोड गरेपछि आरोपित माझी त्यसैबेला फरार भएका थिए। त्यसपछि झनै प्रहरीले बलात्कारीलाई भगायो भन्दै नाराबाजी गर्दै स्थानीयले चौकीमाथि आक्रमण गरेका थिए।

 

स्थानीयले चौकीको लाइनसमेत काटिदिएकाले अहिले चौकीको विद्युत आपूर्ति समेत ठप्प भएको डीएसपी खिउजूले बताए।

 

चाैकी तोडफोड भएपछि चापागाउँबााट थप प्रहरी टोली घटनास्थल गएको थियो।

प्रतिक्रिया दिनुहोस्