प्रेस युनियन राष्ट्रिय पुरस्कार राणा र शाहलाई



पोखरा : प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार कविर राणा र समीरजंग शाहलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्कीले सो पुरस्कार स्थापना गरेको हो ।  

पुरस्कारको राशि ३५ हजार पाँच सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ । यसअघि यो पुरस्कार पोखराका पत्रकार गंगाधर पराजुलीलाई प्रदान गरिएको थियो ।

 

नेपाल प्रेस युनियन कास्कीको अधिवेशनमा उक्त पुरस्कार राणा र शाहलाई संयुक्त रूपमा सम्मान गरिने प्रेस युनियन कास्की अध्यक्ष शिरोमणि बरालले जानकारी दिए । लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शअनुरूप न्यूनतम १५ वर्ष पत्रकारिता गरेका र युनियनको सुदृढीकरणमा योगदान पुर्याएका पत्रकारलाई उक्त पुरस्कार दिने व्यवस्था गरिएको छ । पुरस्कार प्राप्त गर्न युनियनको सदस्य रहेर निरन्तर १५ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

यस वर्ष पुरस्कृत हुने व्यक्तित्वमध्ये भक्तपुरको बालकोटमा जन्मिएका पत्रकार राणाले झन्डै तीन दशक पत्रकारिता क्षेत्रमा बिताएका छन् । देशान्तर साप्ताहिकमा रिपोर्टरका रूपमा काम सुरु गरेका राणा हाल देशान्तर मिडिया प्रालिको संस्थापक कार्यकारी अध्यक्ष छन् ।

 

अन्तर्राष्ट्रिय समाज साप्ताहिक सम्पादक नेपाल च्याप्टरको अध्यक्ष रहेका राणाले विभिन्न मिडियामा काम गरिसकेका छन् । नेपाल टेलिभिन र राष्ट्रिय समाचार समितिको बोर्ड निर्देशक भएर काम गरिसकेका राणासँग पत्रकारका विभिन्न संस्थाको सल्लाहकारसमेत रहेर काम गरेको अनुभव छ ।

त्यसैगरी भेरी नगरपालिका–३ जाजरकोटमा जन्मिएका पत्रकार शाह राजधानीलाई कर्मथलो बनाई विगत साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । २०५० सालदेखि जनमञ्च साप्ताहिकमा जाजरकोटबाट समाचारदाताका रूपमा पत्रकारिता सुरु गरेका शाह हाल रेडियो नेपाल काठमाडौंमा वरिष्ठ समाचारदाताका रूपमा कार्यरत छन् । नेपाल प्रेस युनियनको पूर्वअध्यक्षसमेत रहेका शाहको पत्रकारका विभिन्न संस्थामा आबद्धता छ ।

नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषमा १२ लाख रुपैयाँ रहेको छ । कोषबाट प्राप्त ब्याजबाट पत्रकारलाई पुरस्कृत गर्ने तथा आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्